१४ जना सांसदलाई कारबाही नगर्ने : संसद सचिवालय
काठमाडौं, १३ भदौ ।
नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नहुने भएको छ। एमालेको संसदीय दलले माधव कुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्न गरेको सिफारिसमा कारवाही गर्न नपर्ने निर्णय सभामुख अग्नि सापकोटाले गरेका हुन्। कारबाही गर्न आवश्यक्ता नभएकाले कारबाही नगर्ने निर्णय भएको संसद सचिवालय स्रोतले बताएको छ ।
निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएकोले कारबाही गर्नुपर्ने अवस्था नदेखिएको सचिवालयको भनाइ छ ।
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेको अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।
एमालेले नेता नेपालसहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाही गरेको थियो।
एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर पटक पटक धर्ना समेत दिएका थिए।
यसबीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेको र ती सांसदहरु नयाँ दलमा रहेको भन्दै संसद सचिवालयले कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो ।
वि.सं.२०७८ भदौ १३ आइतवार २३:२६


















