बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको बेत्रावतीमा कस्तो भयावह क्षति पुर्यायो भन्ने अर्को दर्दनाक दृश्य देखिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा पुरिएको घरभित्र एउटै कोठामा २० भन्दा बढी शव फेला परेका छन्।
भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले बगाएर ल्याएका मानिसका शव उक्त घरमा थुप्रिएको अवस्थामा भेटिएको हो। शवको संख्या भने अहिलेसम्म यकिन हुन सकेको छैन।
बेत्रावतीस्थित ठूलो घरको एउटा कोठाभित्र ठूलो संख्यामा शव रहेको जानकारी पाएपछि उद्धार टोली त्यहाँ पुगेको थियो। तर, लगातारको वर्षा, अँध्यारो र जोखिमपूर्ण अवस्थाका कारण उद्धार तथा शव निकाल्ने काम सहज हुन सकेको थिएन।
विदुर नगरपालिका–१० का एक वडा सदस्यका अनुसार आज सुरक्षाकर्मीसहितको टोली उक्त घरमा पुगेर खोजी गर्दा ठूलो संख्यामा शव फेला पारेको हो।
उनका अनुसार करिब २२ वटा शव उक्त घरभित्र रहेको प्रारम्भिक अनुमान गरिएको छ। तीमध्ये केही शव निकालिए पनि अझै धेरै शव घरभित्रै रहेको बताइएको छ।
‘आज २२ जनाको शव एउटै घरमा फेला पर्यो। घण्टी घरभन्दा अलिमाथिको ठूलो घर हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौँ,’ वडा सदस्यले भने।
उनका अनुसार आज मात्रै उक्त घरबाट ५–६ वटा शव निकालिएको छ। बाँकी शव अझै घरभित्रै रहेको उनले जानकारी दिए।
‘अस्ति प्रयास गरिएको थियो, सकेनौँ। हिजो पनि प्रयास भयो। आज सशस्त्र प्रहरीसहितको टोली गएपछि धेरै शव भेटिए,’ उनले भने, ‘अझै करिब १६ वटा शव त्यहीँ छन्। धेरै शव चिन्न नसक्ने अवस्थामा छन्।’
बाढीले घरभित्र ठूलो परिमाणमा लेदो, माटो र अन्य भग्नावशेष थुपारेकाले शव खोज्न तथा निकाल्न कठिनाइ भइरहेको सुरक्षाकर्मीले बताएका छन्। घरको संरचना समेत जोखिमपूर्ण रहेकाले उद्धार टोलीले सावधानी अपनाएर काम गरिरहेको छ।
उद्धारमा संलग्न स्रोतका अनुसार घरभित्र अझै शव पुरिएको हुन सक्ने आशंका छ। त्यसैले पूर्ण रूपमा खोजी तथा उद्धारको काम सम्पन्न भएपछि मात्रै शवको वास्तविक संख्या यकिन हुने बताइएको छ।
प्रहरीका अनुसार उक्त घरमा मंगलबार बिहान पुनः खोज तथा उद्धार अभियान सञ्चालन गरिनेछ। त्यस क्रममा घरभित्र तथा आसपासको क्षेत्रमा थप शवको खोजी गरिनेछ।
रसुवाको भोटेकोशीबाट आएको बाढी त्रिशूली नदी हुँदै नुवाकोटसम्म पुगेपछि बेत्रावतीलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले बगाएर ल्याएका शव विभिन्न स्थानमा भेटिने क्रम अझै रोकिएको छैन।
बेत्रावतीको एउटै घरभित्र ठूलो संख्यामा शव फेला पर्नुले उक्त बाढीले निम्त्याएको मानवीय क्षतिको भयावहता थप स्पष्ट पारेको छ।
वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५


















