युएईमाथि नेपालको रोमाञ्चक जित :आइसीसी टी-२० विश्वकप छनोट
ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित निकालेको छ । लिग चरणका दुवै खेलमा जित निकालेको नेपालले सुपर सिक्समा पनि विजयी सुरुवात गरेको हो ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । उसका लागि अलिसान सराफुले ५८ र ध्रुब परासरले ३२ रन बनाए ।
नेपाललाई रोमाञ्चक जित दिलाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ३ तथा सोमपाल कामी, सन्दीप लामिछाने र गुल्शन झाले समान एक विकेट लिए । युएईका तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।
यसअघि अल अमेरात क्रिकेट एकेडेमीमापहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाए ।
नेपालका लागि भुर्तेल र शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रम नचल्दा नेपाल मध्यम योगफलमा सीमित भएको थियो ।
युएईका लागि जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एकएक विकेट लिए।
जितपछि दोस्रो स्थानमा उक्लिएको नेपालको चार अंक भएको छ । युएईको दुई अंक छ । आइतबार नै भएको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराएको थियो । ओमानको ४ र कतारको शुन्य अंक छ ।
वि.सं.२०८२ असोज २६ आइतवार २०:२९