गर्भाधानमा हुनसक्छ यस्ता त्रुटी, यसरी निम्त्याउछ हुनेवाला बच्चामा समस्या !
सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनीहरु मात्र होइन पुरा परिवारलाई नै उल्लासमय बनाइदिन्छ ।
जति जति गर्भको बच्चा हुर्कदै जान्छ, दम्पतीमा कौतुहलता पनि बढ्दै जान्छ । छोरा होला कि छोरी ? कस्ता बच्चा जन्मिएलान् ? साथसाथै एउटा प्रश्नले भने उनीहरुलाई बेचैन पनि बनाउँछ । जस्तो कि, गर्भको बच्चा सकुशल वा स्वस्थ रुपमै जन्मिएलान् ? जन्मजात शारीरिक दोष लिएर त जन्मदैनन् ?
गर्भावस्था आफैंमा एउटा जटिल अनि बिशेष अवस्था हो । यस अवस्थामा आमा बन्ने खुशी मात्र जोडिएका हुदैनन्, गर्भसंग समाजिक, पारिवारीक र आत्मीय सम्बन्ध रहेको हुन्छ । गर्भावस्थामा हुने शारिरिक र हर्मोनल परिवर्तनहरुले गर्भवतीहरुमा समस्या र चिन्ताहरु थपिने हुन्छन् । त्यसैले यी परिवर्तनहरुका बारेमा गर्भवती तथा दम्पती र परिवारका सदस्यहरुले राम्ररी बुझे तनाव आफैं कम हुने हुन्छ । त्यसैले हरेक दम्पतीले गर्भका योजना बनाउनु र गर्भ राख्नु पहिले नै चिकित्सकिय परामर्श लिनु राम्रो हुन्छ ।
गर्भ राख्नु करिव ९० दिन अर्थात ३ महिना अगाडि नै गर्भका योजनाका लागि प्रसुति तथा स्त्रीरोग बिशेषज्ञसंग गर्भाधान पूर्व परामर्श गर्नु राम्रो हुन्छ । यस परामर्शमा गर्भवती हुने योजनामा रहेका महिलाको शारिरक परिक्षण तथा आवश्यक अन्य परिक्षण गरेर पोषण एवं शारिरिक सक्षमता, संक्रमणहरु (बिशेषतः यौनसंक्रमण), दिर्धरोगहरु (उच्च रक्तचाप, मधुमेह), हर्मोनहरुको सन्तुलन (थाईराईड) आदि अवस्था पत्ता लगाउनुका साथै केहि कमजोर वा गडबडि भए उपचार समेत गरिने भएकाले गर्भ र गर्भको विकासका लागि महत्वपुर्ण साबित हुन्छ ।
वि.सं.२०७८ चैत १ मंगलवार १६:२४
















