वीपी महामानव होइनन्, राजनेता हुन् : केशरबहादुर विष्ट
काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोइरालालाई महामानव भन्न नहुने बताएका छन् । वीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले वीपी महामानव नभई राजनेता भएको तर्क गरे । उनले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गरे । वीपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको समेत उनले बताए । वीपीले समयानुसार मुलुकको राजनीति माटो र गहिराइलाई बुझेर अघि बढाएका र अहिलेसम्म पनि वीपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको बताए । मनमोहन अधिकारी पनि वीपीको नजिकसम्म पुगेको व्यक्ति भएको उनले बताए ।
उनले भने- ‘वीपी महामानव थिएनन् । हामीले बेला बेलामा गलत बुझ्छौँ । वीपीलाई महामानव भन्नुहुँदैन । वीपी राजनेता हुनुहुन्थ्यो । वीपीको राजनेतापन नेपालको लागि इज्जत र सौभाग्यको कुरा हो । हामीले त्यसरी बुझ्दा बढी राम्रो हुन्छ । महामानव भनेको गल्ती नगर्ने मान्छे हुन्छ, राजनीति नगर्ने मान्छे हुन्छ । वीपी गल्ती नगर्ने मान्छे पनि होइन, वीपी राजनीति नगर्ने मान्छे पनि होइन । वीपी राजनेता हुनुहुन्थ्यो । समयानुसार यो मुलुकको माटो, गहिराइलाई बुझेर त्यसलाई लिएर जाने क्रममा त्यति जानेको बुझेको मान्छे आजसम्म नेपालको राजनीतिमा अर्को भएन । केही नजिक नजिक मनमोहन अधिकारी पनि हुनुभयो । नेपालको राजनीतिमा त्यो तहको राजनेता छैन ।’
वि.सं.२०८२ असोज २२ बुधवार १२:४३
















