सरकारले हतियार किन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कमिसनको खेलमा देशलाई आर्थिक संकटमा पार्ने गरी सरकारले हतियार किन्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
एमालेले हतियार खरिदबारे संसदमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीको जवाफ माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको समयमा सभामुखसँग समय लिएर एमालेका खगराज अधिकारीले दुई दिनमा एलसी खोल्नका लागि दबाब दिइएको भन्दै आपत्ति जनाएका हुन् ।
‘इटालीको बदनाम कम्पनीबाट ग्लोबल टेण्डर नगरी सरकारले एक हजार थान नाइन एमएम, पेस्तोल, १ हजार १५० हजार थान स्मल गन र टिअर ग्यास खरिद गर्न लागिरहेको छ,’ अधिकारीले भने, ‘सुरक्षा र मावनअधिकारसम्बन्धी संस्थाले समेत विरोध गरेको बन्दुक किन खरिद गर्नुपर्यो ? दुई दिनभित्र एलसी खोल्नको लागि दबाब दिइँदैछ ।’
अधिकारीले हाँसको बथानलाई हान्ने बाह्रबोर बन्दुक किन ल्याउन लागेको भन्दै सरकारले स्पष्टीकरण दिनुपर्ने बताए ।
देशलाई आर्थिक संकटमा धकेल्ने गरी सरकारले हतियार खरिद गर्न लागेको भन्दै चौतर्फी विवाद भएको छ ।
वि.सं.२०७९ असार २९ बुधवार १३:३८
















