View Point Long Banner Ad

गृहयुद्धमा फसेको सुडानमा हैजा

सुडानमा केही हप्तायता हैजाका ३५० भन्दा बढी केस रेकर्ड गरिएका छन् । देशको गृहयुद्धले निम्त्याएको निरन्तर मानवीय संकटबिच पीडितसमक्ष पुग्न र अभिलेख राख्न कठिनाइ भएका कारण विज्ञहरूले योभन्दा धेरै व्यक्ति संक्रमित भएको हुन सक्ने अनुमान गरेका छन् । स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले हैजाबाट कम्तीमा २२ जनाको मृत्यु भएको बताए । धेरै हप्ताको भारी वर्षापछि पिउने पानी दूषित भएकाले देशमा हैजा महामारी घोषणा गरिएको उनले बताए ।

हैजाको महामारी सुडानका लागि पछिल्लो नयाँ संकटको रूपमा आएको छ । यहाँ सेना र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बिच सन् २०२३ अप्रिलदेखि गृहयुद्ध चलिरहेको छ । सुडानमा हैजा नयाँ होइन । सन् २०१७ मा यस प्रकोपले कम्तीमा ७०० जनाको ज्यान लिएको थियो । दुई महिनाभन्दा कममा लगभग २२ हजारजना संक्रमित भएका थिए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पछिल्लो प्रकोपमा देशमा यस वर्षको सुरुदेखि जुलाई २८ सम्म ७८ जनाको मृत्यु भएको रेकर्ड गरेको छ, जबकि देशभर करिब २४ सय मानिस संक्रमित भएका छन् । तर, भर्खरको प्रकोपको पछाडि के कारण छ, र यो कति हदसम्म फैलिएको छ ? अहिले भन्न सकिने अवस्था छैन ।

दोहोरिइरहने प्रकोप
सुडानको स्वास्थ्य मन्त्रालयले पहिलोपटक पछिल्लो प्रकोप दुई हप्ताअघि रिपोर्ट गरेको थियो, जतिवेला १७ जनाको यस रोगबाट मृत्यु भइसकेको थियो । देशका कसला, एल गेजिरा र खार्तुममा हैजाका २६८ वटा केस रिपोर्ट गरिएका थिए । अहिले यो बढेर २२ जनाको मृत्यु र ३५४ जनामा संक्रमण भएको छ । सुडानमा जुनदेखि विशेषगरी भारी मौसमी वर्षा भइरहेको छ । बाढीले दर्जनौँ मानिसको ज्यान लिइरहेको छ । संयुक्त राष्ट्र संघीय आप्रवासन संगठन (आइओएम)का अनुसार जुनदेखि सुडानका १८ राज्यमध्ये ११ राज्यमा आएको बाढीका कारण २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूमा हैजाको जोखिम छ ।

बाढीको पानी ढलमा मिसिएपछि खानेपानी पनि दूषित भएको छ । डब्ल्युएचओका प्रवक्ता तारिक जसरेभिकले एसोसिएटेड प्रेसलाई बताएअनुसार संक्रमितमध्ये धेरैजसो हैजाविरुद्धको खोप नलगाएका थिए । डब्ल्युएचओले सुडानी स्वास्थ्य अधिकारी र साझेदारसँग यो रोग रेकर्ड भएको पाँच प्रान्तका नौ स्थानमा खोप अभियान लागू गर्न काम गरिरहेको प्रवक्ता जसरेभिकले बताए ।

हैजा सामान्यतया दूषित पानीबाट सर्ने ब्याक्टेरियल रोग हो । मानिसहरूले यो ब्याक्टेरिया भएको पानी पिउँदा वा खुल्ला घाउ भएका मानिसले दूषित पानीसँग प्रत्यक्ष सम्पर्क गर्दा र कतिपय अवस्थामा काँचो शेलफिस (एक प्रकारको समुद्री प्राणी) खाँदा यो रोग लाग्छ । यो एक व्यक्तिले अर्को व्यक्तिलाई छुँदैमा सर्दैन । त्यसैले यो रोग भएको व्यक्तिसँगको आकस्मिक सम्पर्क जोखिमपूर्ण हुँदैन । रोगले गम्भीर पखाला र निर्जलीकरण निम्त्याउँछ । रोगको उपचार समयमै नगरिएको खण्डमा यसले केही घण्टाभित्रै मानिसको पनि ज्यान लिन सक्छ । यद्यपि यो रोगले यसको सम्पर्कमा आएका सबैलाई असर नगर्न सक्छ । खाना र पानीको आपूर्तिलाई दूषित पार्दै संक्रमित व्यक्तिले अझै पनि आफ्नो दिसामा ब्याक्टेरिया पास गर्न सक्छन् । सरसफाइ सुविधा नभएका स्थानमा यो एक विशेष समस्या हो ।

हैजाको उपचारमा गुमेको तरल पदार्थ प्रतिस्थापन गर्न रिहाइड्रेसन प्रक्रिया अपनाइन्छ । अमेरिकाको एकेडेमिक मेडिकल सेन्टर मेयो क्लिनिकका अनुसार रिहाइड्रेसनविना ‘हैजाका आधा मानिसको मृत्यु हुन्छ । उपचारसँगै मृत्युदर एक प्रतिशतभन्दा कममा झर्छ ।’ अन्य उपचारमा भित्री तरल पदार्थ, एन्टिबायोटिक र जिंक पूरक समावेश छन् । पाँच वर्षमुनिका बालबालिकामा संक्रमणको उच्च दर छ । तर, सबै उमेर समूह जोखिममा छन् । विशेषगरी कुपोषणबाट पीडित, प्रतिरक्षा कम भएका वा पूर्वखोपको अभाव भएका यस रोगबाट सबैभन्दा बढी जोखिममा छन् ।

सुडानको युद्धले ढल र पानी प्रशोधन कार्यसहित देशका धेरै नागरिक पूर्वाधारलाई क्षति पुर्‍याएको छ । साथै कतिपय पूर्वाधार पूर्ण रूपमा ध्वस्त भएका छन् । राजधानी खार्तुमसहित धेरै ठाउँ युद्ध मैदानमा परिणत भएका छन् । धेरै अस्पताल र चिकित्सा सुविधा न्यूनतम वा कुनै आपूर्ति नभएकाले उनीहरू आफ्ना सेवा रोक्न बाध्य भएका छन् । द्वन्द्वको परिणामस्वरूप समग्र मृत्युको संख्या अस्पष्ट छ । सुडानका लागि अमेरिकी राजदूत टम पेरिलोका अनुसार अहिलेसम्म एक लाख ५० हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।

जुनमा आइओएमले द्वन्द्वका कारण सुडानभित्र १ करोडभन्दा बढी मानिस विस्थापित भएको जानकारी दिएको थियो । जनसंख्या विस्थापित हुँदा र सरसफाइ कमजोर हुँदा हैजा झन् छिटो फैलिन्छ, जसले युद्ध क्षेत्रलाई रोग फैलाउन उपयुक्त वातावरण बनाउँछ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार भारी वर्षाको मौसमले पहिलेदेखि नै भयावह अवस्थालाई झन्झन् बढाएको छ, जसले हिजो बाढीले भरिएका सडकबाट सहायता सामग्री बोकेका ढुवानी गाडीलाई आवतजावत गर्न जटिल बनाएको छ ।

डब्लुएफपीले सोमबार जनाएअनुसार संगठनले मूल रूपमा पाँच लाख मानिसमा पुग्ने लक्ष्य राखेको थियो, तर ढुवानी गाडी हाल चाड क्षेत्रमा फसेका छन् । भारी वर्षाले यसलाई ठूलो मात्रामा असहज बनाएको छ । केही ट्रकहरू दुई हप्तासम्म अड्किएका छन् । ‘सफा पानी र सरसफाइ प्रणालीजस्ता महत्वपूर्ण पूर्वाधार द्वन्द्व र भिडभाड भएका विस्थापन शिविरमा क्षतिग्रस्त भएका क्षेत्रमा रोकथाम गर्न सकिने रोगहरू चाँडै फैलिएका छन्,’ डब्लुएफपीले भनेको छ ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...