भोली पूर्व प्रधानमन्त्रीले उद्घाटन गर्दै डेउडा साँस्कृतिक साँझ
सुदूरपश्चिम तथा कर्णालीको मौलिक गीत संगीत, कला संस्कृतिको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गरि डेउडा सँस्कृतिकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै सिङ्गो मौलिक सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउने उद्देश्यले आयोजित स्रष्टा अभिनन्दन तथा डेउडा साँस्कृतिक साँझ–२०८०
भोली सोमबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक साँझ २०८० को तयारी पुरा भइसकेको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले चिनारी टाईम्सलाई जानकारी दिए ।
सोमबार दिउँसो ३ बजे देउडा सांस्कृतिक साँझको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ । काठमाडौँमा पहिलो पटक सांस्कृतिक समाज नेपालले सुदूरपश्चिम प्रदेशको कला संस्कृति जर्गेना गर्ने उद्देश्यले स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ आयोजना गरेको हो ।
‘नेपालीहरूको गौरवपूर्ण शान, कला र संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ मौलिक कला र संस्कृतिको संरक्षण एवम् सम्बद्धन गर्ने उद्देश्य रहेको अध्यक्ष अवस्थीले बताए ।
कार्यक्रममा मौलिक कला संस्कृतिलाई बचाइराख्ने र चिनाइराख्ने विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन गरिने छ । लोकप्रिय गायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, टीका पुन ,सुरेश शाही, महेश कुमार औजी लगायत दर्जनौ कलाकारहरूका मौलिक प्रस्तुतिका साथै प्रख्यात पुतला नाच , छलिया नाच , ठाडो नाच लगाएतका थुप्रै नाचहरू समेत प्रस्तुत गरिने जनाइएको छ ।
कार्यक्रमले देउडा संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन टेवा पुग्ने विश्वास गरिएको छ ।
वि.सं.२०८० भदौ ३ आइतवार १२:२४
















