काभ्रेको तीनतले झरना पर्यटकको आकर्षक गन्तब्य बन्दै
काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर १ को तीनतले झरनामा अहिले पर्यटकहरुको घुईंचो लाग्न थालेको छ । बेथानचोक नारायणस्थानको फेदीमा रहेको तीनतले झर्नामा पर्यटक बढेका हुन् । केही वर्ष अघिसम्म गुमनाम रहेको यहाँ अहिले दैनिक ५० देखि १०० जनासम्मको संख्यामा पर्यटक आउने गरेका हुन् ।
यहाँको अति सुन्दर र पबित्र सफा पानीमा डुबुल्की मार्दै गर्मी भगाउन र घुमफिरको मजा लिन काठमाडांै र भक्तपुरबाट पनि आन्तरिक पर्यटक आउने गरेका स्थानीय गोपालकृष्ण सापकोटाले बताए । पछिल्ला दिनहरुमा यहाँ पालिकाले पनि पर्यटकीय क्षेत्र बनाउन पहल गरिरहेको छ । यहाँ व्यवस्थित पौडी पोखरी पनि बनाइएको छ । सँगै अग्लो पहाडबाट सदाबहाररुपमा झरिरहने झरनाले जो कोहीलाई लोभ्याउँछ ।
यहाँको झरना तला तला परेर झरेको छ । दोस्रो तलामा कुण्ड छ । यहाँ भगवान शिवको आकृति पनि रहेको छ । तर घुम्न जानेहरुले यस कुण्डमा पनि नुहाउने गरेकाले केही अनिष्ट हुन सक्ने स्थानीयहरुको भनाइ छ । त्यसैले यहाँ अलि परैबाट फोटोहरु खिच्ने व्यवस्था गर्दै कुण्डमा नुहाउन भने रोकिनु पर्ने सापकोटाको भनाइ छ । तल्लो कुण्डमा नुहाउने व्यवस्था गरि माथिल्लो कुण्डलाई संरक्षण गर्न वडा र पालिकाले ध्यान दिनुपर्ने उनी बताउँछन् ।
यसभेगमा स्थानीय रतन खोला लगायतमा पनि थप यस्तै झरनाहरु छन् । जसले गर्दा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउन सकिने भएपनि त्यहाँ पुग्ने सडक संरचना कच्ची भएकाले सोचेजति पर्यटक ल्याउन अझै सकिएको छैन । यसतर्फ बेथानचोक गाउँपालिकाले ध्यानदिइरहेको उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन् ।
वि.सं.२०८१ असार १० सोमवार १७:५३
















