सरकारको डेटा सेन्टर कर्मचारी अभावले समस्यामा
काठमाडौं । गत १ साउनदेखि सञ्चालनमा आएको सरकारी डेटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्र पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्यामा परेको छ ।
सरकारले केन्द्रमा दरबन्दीअनुसार प्राविधिक जनशक्ति खटाउन सकेको छैन । ३९ जनाको स्थायी दरबन्दीमध्ये ११ जना कर्मचारी मात्रै स्थायी छन् । ७ जना केन्द्रकै स्वीकृत दरबन्दी कार्यरत हुन् भने ४ जनालाई सूचना प्रविधि विभागबाट खटाइएको महानिर्देशक प्रेमशरण आचार्यले जानकरी दिए ।
केन्द्रले सरकारी डेटाको भण्डारण, सञ्चालन, व्यवस्थापन, प्रशोधन तथा सुरक्षण, साझा कम्प्युटिङ स्रोतहरू, परामर्श सेवा, सरकारी डोमेन दर्ता, इमेल सर्भर, सरकारी नेटवर्क व्यवस्थापन जस्ता संवेदनशील काम गर्छ ।
कोलोकेसन सेवा, भर्चुलाइजेसन, क्लाउड सेवा, वेब होस्टिङ, सफ्टवेयर विकास र जनशक्ति तालिमको जिम्मा समेत पाएको केन्द्रमा अहिले डेटा सेन्टर व्यवस्थापन गर्न पर्याप्त जनशक्ति छैनन् ।
वि.सं.२०८१ भदौ ९ आइतवार १७:४२
















