‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राख्दै १५ दिनमा एकपटक अस्पतालको अनुगमन गर्न थालेका छन् ।
प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र भौतिक अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री भट्टले छोटो अवधिमै दुई पटक अस्पतालको अनुगमन गरेका हुन् ।
‘जनताले साच्चिकै सरकारी अस्पताल यस्तो पो हुँदोरहेछ भनेर अनुभूति गर्ने खालको बनाउनुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा समेत प्रदेश सरकारले ध्यान दिने बताए । अनुगमनका क्रममा उनले अस्पतालका कर्मचारीसँग छलफलसमेत गरेका थिए । अस्पतालले प्रदान गरिरहेको सेवा, जनशक्तिको अवस्था, भौतिक पूर्वाधार तथा अस्पताल व्यवस्थापनका विषयमा सुपरिटेन्डेन्ट डा । हेमराज पाण्डेयले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
यसअघि असार ३१ गते पनि मुख्यमन्त्री भट्टले सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका थिए । त्यतिबेला उनले अस्पतालको आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायत विभिन्न स्थानको अवलोकन गरेका थिए ।
अनुगमनका क्रममा मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीले अस्पतालमा उपचाररत बिरामीसँग भेटेर उनीहरूका समस्या र गुनासासमेत सुनेका थिए । बिरामीहरूले उपचार सेवा, जनशक्ति तथा अस्पताल व्यवस्थापनसँग सम्बन्धित समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए ।
त्यस क्रममा मुख्यमन्त्री भट्टले सेती अस्पतालको अवस्था सुधारका लागि आफूले नियमित अनुगमन गर्ने बताएका थिए । सुदूरपश्चिममा सबैभन्दा बढी बिरामीको चाप रहने अस्पतालमध्ये सेती प्रादेशिक अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चापअनुसार सेवा दिन अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरेर सेवा सञ्चालन हुँदै आएको छ ।
बिरामीको चापअनुसार आवश्यक जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा उपचारका लागि आउने नागरिकले प्रभावकारी सेवा पाउन समस्या भोग्दै आएका छन् । मुख्यमन्त्री भट्टले भने १५–१५ दिनमा अस्पतालको अवस्थाबारे जानकारी लिने र देखिएका समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०


















