गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
बागलुङ। बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न शुरु गरिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न शुरु गरिएको हो ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना–बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नर बहादुर घर्ती मगरले बताए ।
पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब सात सय मिटर निर्माण हुने अध्यक्ष घर्ती मगर बताए । गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले बताए ।
ताराखोला-१ मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरनामा आउने पर्यटकलाई तालसम्म पुर्याउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला-१ का अध्यक्ष याम बहादुर श्रीसले बताए । महिनामा करिब दुई हजार बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीसले बताए ।
झरनालाई व्यवस्थित बनाउनका लागि प्रदेशले चालु आवमा पदमार्ग निर्माणसहित १५ लाख विनियोजन गरेको उनले बताए ।
वि.सं.२०८० फागुन ४ शुक्रवार १५:४३
















