नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ
नक्कली नोट बनाउने कागजको बण्डलसहित १ जना पक्राउ परेका छन् । सर्लाही जिल्लाको गोडैता नगरपालिका–३ सिमरा भगवतीपुरबाट भदौ १७ गते राति सशस्त्र प्रहरीले नक्कली नोट बनाउने सादा कागजको बण्डलसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला साबिक ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ३२ वर्षीय हिरामान लामा छन् ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई नियन्त्रणमा लिएको हो ।
सिमरा भगवतीपुर गाउँबाट सिमरा बजारतर्फ जाँदै गरेको स्कारपियो गाडीमा लुकाइ राखेको कार्टुनमा बण्डल फेला परेको हो । जाँचका क्रममा गाडी लिएर चालक भने फरार भएका छन् । लामाको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आइतवार इलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।
वि.सं.२०७९ भदौ २० सोमवार १०:२८
















