सहकारी सञ्चालकद्वारा बचतकर्ताको नौ करोड हिनामिना
सहकारी सञ्चालकद्वारा बचतकर्ताको नौ करोड हिनामिना
अध्यक्ष, सचिव, कोषाध्यक्ष र व्यवस्थापकको मिलेमत्तोमा रकम हिनामिना, सबैका जग्गा रोक्का राख्न छानबिन समितिको सुझाव
भाद्र १०, २०८० Shant shishir
विराटनगर —
बचतकर्ताको रकम हिनामिना गरेर विराटनगरमा सहकारी सस्थाका सञ्चालक भाग्ने क्रम बढेको छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेर मोरङ, झापा, सिरहा र उदयपुरमा शाखा कार्यालय रहेको तुलसी सहकारी सस्थाका सञ्चालकले सर्वसाधारणको डेढ अर्ब हिनामिना गरेर सञ्चालक भागेको घटना सेलाउन नपाउदै यहाँको अर्को एक सहकारीको त्यस्तै घटना बाहिर आएको छ । माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका चार जना सञ्चालकले सर्वसाधारणको नौ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको खुलेको हो । उक्त सहकारीमा पाँच सयभन्दा बढी सर्वसाधारणको ९ करोड २५ लाख रुपैयाँ बचत रहेको र उक्त रकम सस्थाका सञ्चालकले हिनामिना गरेको छानबिन समितिले पुष्टि गरेको छ । जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनअनुसार सस्थाका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले ४ करोड ७३ लाख ७४ हजार ९५६, सचिव प्रभाकर थापाले १ करोड ६० लाख ३३ हजार ४ सय २, अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ र कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेका छन् । उनीहरुमध्ये थापा कांग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्वअध्यक्ष र कर्ण विवेकशील साझा पार्टीका नेता हुन् । अध्यक्ष कर्णले सर्वसाधारणको बचत हिनामिना भएको स्वीकार्दै सञ्चालक समितिका सबै सदस्यले तिर्ने तयारी भइरहेको बताए ।
उनका अनुसार करिब डेढ करोड लगानी उठ्ने स्थिति छैन । बाँकी रकम सस्थाको नाममा रहेको जमिन बिक्री गरेर र सञ्चालकले रकम निकालेर बचतकर्तालाई फिर्ता गर्ने तयारी छ । रकम हिनामिनामा जोडिएका सबै सञ्चालक सम्पर्कमा रहेको उनले बताए । उनीहरुले आफन्त र नातागोतालाई सहकारीको रकम विना धितो दुई करोडभन्दा बढी लगानी गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । चार जना सञ्चालकका नाममा रहेको जग्गा पनि रोक्का राख्न छानबिन समितिले सुझाव दिएको छ । थापाको सबैभन्दा बढी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ । थापाको झापाको धुलाबारी २ मा १७ कट्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० किता नं। रहेको ४ कट्ठा १० धुर जग्गा धुलावारीमा देखिएको छ । यसैगरी थापाकी श्रीमतीको नाममा पनि १०६ र ८१२ किता नम्बरमा १७ कट्ठा जग्गा रहेको प्रतिवेदनमा छ । सञ्चालकले सहकारीको पैसा जग्गा खरिदमा लगाएको बुझिएको छ ।
व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैंक खातामा सहकारीको पाँच करोडभन्दा बढी रकम देखिएको छ । सिटिजन्स इन्टरनेशनल बैकको खाता नं। ००२००२००००९३९ एस। ए। १६ फ्रेब्रुरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैंक विराटनगर शाखा खाता नं। ०१२०११०००४७१४३०००००१ मा ४ अक्टुबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको प्रतिवेदनमा उल्लेख छ ।
गत मंसिर २८ मा भएको लेखा परीक्षणअनुसार १ करोड ४९ लाख ३७ हजार २९३ रुपैयाँ ऋण लगानी भएकोमध्ये अधिकाश भाखा नाघेका, पुराना, कागजी प्रक्रिया पुरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा रहेको अवस्था छ । ऋण लगानी जम्मा २ सय ५ जनामा देखाएकोमध्ये ५ जनाको मात्र धितो जमानीमा ऋण लगानी गरेको देखाएको प्रतिवेदनमा उल्लेख छ । ऋण लगानीको संयोजक अमित कार्की थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ सम्म ३८ पटक बैठक बसी ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले हिनामिना गरेको संचालकहरुले तिर्नुपर्ने रकम तिर्न दिएको तीन महिनाको अवधि पनि पुरा भएकाले अब थप कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए ।
‘छानबिन समितिले प्रतिवेदन दिएपछि हिनामिना गरेको हिसाब फरफारक गर्ने समयको दिएको थियो । तोकिएको समय सकिए पनि सञ्चालकले रकम नबुझाएपछि कारबाहीको प्रक्रिया अघि बढाएको खत्रीले बताए । उनका अनुसार ‘घोटाला गर्ने सञ्चालकको सम्पत्ति रोक्का राखेर रकम असुलीको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको हो ।
वि.सं.२०८० भदौ ११ सोमवार ०१:२१
















