बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन र राहतमा ध्यान दिन सांसदहरूको आग्रह
राष्ट्रिय सभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहत समेत नपाएको बताए । उनले सरकारले क्षतिको अभिलेख मात्रै संकलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मल समेत नपाउनु विडम्बना भएको बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गरे ।
अर्का सांसद शारदादेवी भट्टले यस वर्ष पनि वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गरेका छन् ।
वि.सं.२०७९ साउन २५ बुधवार १४:३७
















