जोरपाटीबाट ९२ लाख रुपैयाँसहित २ जना पक्राउ
काठमाडौं । काठमाडौँको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई मंगलबार राति पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खाती रहेका छन्।
उनीहरुले कहाँबाट रकम लिएर कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए।
‘२ जना पक्राउ परेका छन्। तर उनीहरुको विषयमा अनुसन्धान भइरहेकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी आचार्यले बताए ।
प्रहरी उच्च स्रोतका अनुसार भने उनीहरुसँग सुन रहेको सूचनाका आधारमा अप्रेसन चलाइएको थियो। तर उनीहरुको साथबाट सुरुमा ७७ लाख रुपैयाँ र पछि १५ लाख रुपैयाँ बरामद भएको हो।
वि.सं.२०८१ पुस १० बुधवार १६:०६
















