मंसिर तेस्रो साता स्थानीय तहको उपनिर्वाचन गर्ने
निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ ।
छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सहभागी थिए । आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पद रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै ती स्थानमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव राखेको प्रधानमन्त्रीको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘प्रधानमन्त्रीज्यूले मंसिर १८ देखि २० भित्र चुनाव गर्ने गरी तयारी गर्नुस्, अहिले नै मिति तोकिहाल्नुपरेन, हामी पनि छलफल गर्छौँ भन्नुभएको छ,’ प्रमुख आयुक्त थपलियाले छलफलको निष्कर्ष सुनाउँदै भने, ‘मिति पछि तोकिन्छ । तर, हामी तयारीको गृहकार्य अगाडि बढाउन दुई–तीन दिनभित्रै मतदाता नामावली प्रकाशन गरेर काम सुरु गर्छौँ ।’
जवाफमा प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेका थिए । मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने जानकारी गराएको छ ।
छलफलमा प्रमुख आयुक्त थपलियाले आगामी १९ र २० भदौमा दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरूको मञ्च (फेम्बोसा)को १२औँ बैठक नेपालमा आयोजना गरिएको विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
यी ३४ पदमा हुनुपर्नेछ उपनिर्वाचन
आयोगको तथ्यांकअनुसार स्थानीय तहमा नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्ष २८ गरी स्थानीय तहमा ३४ पद रिक्त छ । जसमा काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोट नलगाड नगरपालिका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद खाली छ ।
त्यस्तै, सुनसरीको गडी गाउँपालिका ६, उदयपुरको त्रियुगा नगरपालिका १२, रौतहटको ईशनाथ नगरपालिका ७, राजपुर नगरपालिका ६, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४, काठमाडौंको कीर्तिपुर नगरपालिका १ र ४, काठमाडौं महानगरपालिका १६, नुवाकोटको ककनी गाउँपालिका २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२, गोरखाको गोरखा नगरपालिका ५, गुल्मीको मुसिकोट नगरपालिका १, रोल्पाको रुन्टिगढी गाउँपालिका ८, बर्दियाको ठाकुरबाबा नगरपालिका ४, कालीकोटको तिलागुफा नगरपालिका ४, जाजरकोटको कुशे गाउँपालिका ७, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५, दार्चुलाको दुहुँ गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ लगायत २८ वटा वडाध्यक्ष पद खाली छ ।
वि.सं.२०८१ साउन २९ मंगलवार ०९:११
















