मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट मानवीय क्षति बढी (तथ्यांकसहित)
काठमाडौँ । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् ९मुख्यगरी बाढीपहिरो र चट्याङ०का घटनाबाट मानवीय क्षति बढी भएको भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको हो । मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले यसपालि नेपालले बाढी, पहिरो, चट्याङबाट जनधनको बढी क्षति बेहोरेको बताए । प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा ती विपद्का चार सय ५१ वटा घटना भएका थिए । यसपालि भने ६ सय ९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि सो अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष बेपत्ता २५ जना रहेकामा यसवर्ष उक्त अवधिमा तीनजना बेपत्ता रहेका छन् । गत वर्ष ५६ जना घाइते भएकामा यसपालि ८९ जना घाइते भएका जनाइएको छ ।
बाढीबाट गत वर्ष सात जनाको मृत्यु भएकामा यसपालि १५, पहिरोबाट गत वर्ष १७ जनाको मृत्यु भएकामा यसपालि ३५ र चट्याङबाट गत वर्ष १६ जनाको मृत्यु भएकामा यसपालि १९ जनाले ज्यान गुमाएका छन् । भारी वर्षाका कारण गत वर्ष दुई जनाले ज्यान गुमाएकामा यसपालि सो अवधिमा शून्य रहेको छ ।
प्रभावित परिवार भने गत वर्षभन्दा यस वर्ष कमी देखिएको छ । गत वर्ष दुई हजार एक सय ६४ परिवार प्रभावित भएकामा यसपालि एक हजार दुई सय ७२ परिवार प्रभावित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत वर्ष विसं २०८० साल जेठ ३१ ९मनसुन सुरु भएको दिन० र यस वर्ष जेठ २८ गते ९मनसुन सुरु भएको दिन० देखि ३० दिनको अवधिमा भएको तथ्याङ्क छ ।
वि.सं.२०८१ साउन ५ शनिवार ०८:२६
















