‘नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्नुपर्छ, तर…’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताएका छन् ।
उनले पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्ने भएपनि एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताएका हुन् ।
राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय हुन नसक्ने पनि पोखरेलको भनाइ छ ।
‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन’, शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा पोखरेलले भनेका छन्, ‘खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ । समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन ।’
वि.सं.२०८२ असोज १७ शुक्रवार १३:५९
















