यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
३१ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका काठमाडौं महानगरपालिका–२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका काठमाडौं महानगरपालिका–३० बस्ने २३ वर्षीय ईश्वर पोखरेल रहेका छन् ।
खड्काले यूके पठाइदिने भन्दै २ जना पीडितसँग ३६ लाख रुपैयाँ र पोखरेलले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा खड्कालाई शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–८ बाट र पोखरेललाई काठमाडौं महानगरपालिका–१४ बाट शुक्रबार नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
वि.सं.२०८१ चैत ३१ आइतवार १५:२२
















