कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन स्वीकार्य छैन स् प्रमुख सचेतक परियार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । ललितपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गरे । उनले इमानदारिताका साथ संविधान संशोधन गर्न खोजेको भए रास्वपाको साथ रहने बताए । उनले राजनीतिक संस्कार स्थायी हुन जरुरी रहेको बताए । उनले दुई तिहाइ बहुमत ल्याउन निर्वाचनले कुनै पनि राजनीतिक दललाई नरोकेको बताए ।
उनले भने( ‘हामीले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने भन्ने थियो । पहिलो कुरा त हामीले संविधानको कार्यान्वयन नै गरेनौँ । देशमा यत्रा ठुला सङ्घर्ष भएका थिए, ती कुराहरूमा हामीले कार्यान्वयनका लागि कानुन नै बनाएनौँ । यो संविधान अहिले ९ वर्षमा चलिरहेको छ । मलाई विश्वास त छैन, सात बुँदामध्ये २ नम्बर बुँदामा संविधान संशोधन राखेर नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बन्यो । इमानदारिताका साथ गर्न खोजेको हो भने हामीले त्यसलाई स्वीकार गरेका छौँ ।’
परियारले थप भने, ‘संविधानअनुसार काम गर्न कहाँ कहाँ अप्ठ्यारो थियो, स्थायित्वको कुरा गर्ने हो भने २०१५,२०४८,२०५६ साल, २०७४ सालसम्म बहुमतको सरकार थियो । ती टिकेनन् । कुनै पनि टिकेनन् । बरु नभएका सरकारहरू टिकेका छन् । कतिमा त संसद् नै पनि खाइदिए । हाम्रो प्रवृत्ति स्थायी छैन । राजनीतिक संस्कार स्थायित्व छैन, कोही पार्टीहरूलाई चाहियो भनेर स्थायित्व जबरजस्ती हुँदैन ।’
उनले भने, ‘दुई तिहाइ बहुमत पनि आउन सक्छ । तदनुरूपको विचार हुनुपर्छ । राजनीतिक मुद्दा हुनुपर्छ । निर्वाचन प्रणालीले बहुमत र अल्पमतमा लैजाने भन्ने होइन । मुख्य कुरा विचार हो । जनताका मुद्दा हुन् । कुनै पार्टीलाई आजको संविधानले बहुमत ल्याउन कतै रोकेको छैन । संविधान संशोधन गर्नुपर्छ तर पार्टीको प्रवृत्ति, चरित्र र व्यक्तिको प्रवृत्ति, चरित्र बदल्नुपर्छ । व्यक्तिको पनि संविधानतः चरित्र हुनुपर्छ, समावेशी हुनुपर्छ । संविधानले परिकल्पना गरेको कुरा केही पनि नगर्ने अनि आफूले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नुपर्ने रु सबैभन्दा खतरनाक कुरा यो हो ।’
प्रमुख सचेतक परियारले संविधान संशोधन गर्नुपर्ने तर त्यसभन्दा पहिला व्यक्ति र राजनीतिक दलको प्रवृत्ति र चरित्र बदल्नुपर्ने जरुरी रहेको बताए ।
वि.सं.२०८१ फागुन ३ शनिवार १६:१७
















