चुनावी गठबन्धनको विपक्षमा कांग्रेस
काठमाडौं । आगामी चुनावमा कसैसँग तालमेल नगर्ने प्रस्ताव अन्ततः नेपाली कांग्रेसले सर्वसम्मत पारित गरेको छ ।
आइतबार सकिएको केन्द्रीय समिति बैठकले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित गरेको हो । ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनः स्थापित गर्नेछौं’, निर्णयमा भनिएको छ ।
महामन्त्री थापाले यो प्रस्ताव गत फागुनमा सम्पन्न महासमिति बैठकमा राखेका थिए । तर महामन्त्री थापाको यस्तो प्रस्तावमा सभापति शेरबहादुर देउवाले विमति जनाए ।
महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग रहने र सभापति देउवाले अस्वीकार गर्दा नेताहरु दुई खेमामा विभाजित भएका थिए । त्यसबेला महामन्त्री थापाको प्रस्ताव थियो, ‘पार्टी संगठन र समर्थक–शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं ।’
वि.सं.२०८१ भदौ १७ सोमवार ०८:४३
















