कपिलवस्तुको बाणगंगा क्षेत्र डुबानमा
आज मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगाका नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ।
बिहानैदेखि परेको भीषण वर्षाले बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बर, बैरिया, पिपरा, बोर्डगाउँ कोइली वनगाईका विभिन्न स्थान डुबानमा परेका हुन्। डुबानले मुख्यगरी अन्डरग्राउन्ड गोदाम गरिएका व्यवसायीलाई क्षति पुगेको छ।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कपिल)का अनुसार बजार क्षेत्रका पसल तथा गोदाम डुबानका कारण करोडौँको क्षति भएको अनुमान गरिएको छ। लुम्बिनी कृषि बैंकको शाखा कार्यालय डुबान हुँदा अन्दाजी २५ लाखको क्षति भएको बताइएको छ।
जिल्लाको बाणगंगा र कोइली खोलाले जोखिम तह पार गरेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्लाका बुद्धभूमि, शिवराज, तौलिहवा, कृष्णनगरलगायतका क्षेत्रसमेत डुबानमा परेका छन्।
वि.सं.२०८१ भदौ ४ मंगलवार १९:५१
















