जनक शिक्षाले छाप्यो १ करोड भन्दा बढी पुस्तक
भक्तपुर । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छापी सकेको छ ।
आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नु पर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताए ।
चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पु(याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।
उनले चैतदेखि पुस्तक वितरण सुरु गरी शैक्षिक सत्र सुरु हुँदा विद्यालय विद्यालयमा पुस्तक पुर्याएर विद्यार्थीको हातहातमा पुस्तक पुग्ने गरी तयारी गरेको बताउँदै कुनै हालतमा पनि पुस्तक अभाव नहुने र वितरणमा पनि ढिलाइ नहुने बताए ।
वि.सं.२०८० माघ १९ शुक्रवार १७:१८
















