६ महिने छोरीको हत्या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई पक्राउ
स्याङ्जामा छ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँकी २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
लक्ष्मीले आफ्नै छ महिने छोरीलाई हत्या गरी फालेको आरोप छ। लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन्।
साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन्। उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए। खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा फेला परेकी थिइन्।
‘पहिले लक्ष्मी फेला परिन्। उनीसँग सोधपुछ गरेपछि केदार पनि फेला परे,’ खनालले भने, ‘बच्चा कहाँ राख्यौ त भनेर सोध्दा सुरूमा त जंगलमा फालेको भनिन्। तर त्यहाँ पनि रहेनछ।’
अनुसन्धानको क्रममा उनले साउन १० को मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो। त्यहाँबाट प्रहरीले शव सडिगलिसकेको अवस्थामा फेला पारेको हो।
प्रहरीले यस घटनामाथि अनुसन्धान गर्न लक्ष्मी र केदारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
उनले सुरूमा हत्या गरेर फाले वा यत्तिकै फालेर पछि मृत्यु भएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको खनालले बताए।
वि.सं.२०७९ साउन २२ आइतवार १६:४६
















