जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छुः उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारी बोधको रुपमा लिएको प्रतिक्रिया समेत दिइन् ।
उनले भनिन्, ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरु माझ जाहेर गर्न चाहन्छु । यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सुरु भएको छ, औपचारिक रुपमा । यो अभियानमा जसरी यहाँहरूले युवाहरुलाई विश्वास गर्नुभएको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमात बढिरहँदा यो जीतले केही न केही आशाको किरण, आशाको द्वीप थपि दिएको छ । र, यो आशाको द्वीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरुलाई पनि साथ दिनुपर्छ । एक÷अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठ्नुपर्छ । म भन्ने शब्दभन्दा माथि उठ्नुपर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खबरदारी गर्नुहोला ।’
उपमेयर डंगोलले एक–अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताइन् । उनले आफूहरूबाट गल्ती हुन नदिन आम मतदाताले खबरदारी गरिरहने विश्वास समेत व्यक्त गरिन् ।
वि.सं.२०७९ जेठ १३ शुक्रवार १३:१९
















