View Point Long Banner Ad

हिमाल आरोहण गर्दा हराउनेको उद्धारमा समस्या

 

एउटा शव आधार शिविर झार्न कम्तीमा ५० हजार डलर लाग्छ, हिमालमा हराएकाको शव खोज्नबिमाबापतको रकम पनि खर्चिंइदैन
भेटिएका शव ल्याएर हस्तान्तरण गर्ने प्रक्रियासम्बन्धी कानुनसमेत छैन

काठमाडौं — जनकपुरको सरस्वतीनगर बस्ने बैजनाथ साहलाई भाइ रन्जितकुमारको सम्झनाले बारम्बार सताइरहन्छ । सपनामा समेत देख्दा त कतै भाइ आई पो हाल्छ कि भन्ने लाग्छ । सगरमाथा आरोहणका क्रममा उनका भाइ रन्जित गत जेठ ११ देखि बेपत्ता छन् ।

सगरमाथा आरोहीको शव डोरीको सहायताले झारिँदै ।

तराईको गर्मी र समथर भूभागमा जन्मे, हुर्केका रन्जितलाई विपरीत भूगोल र हावापानीको अनुभव गर्दै सगरमाथा चुम्ने रहर पलाएपछि आरोहणमा निस्किएका थिए । दुर्भाग्य उकालो लागेको केही समयमै उनी बेपत्ता भएको खबर आयो । बैजनाथले लगत्तै सम्बन्धित कम्पनी, पर्यटन विभाग सबैसँग भाइका लागि हारगुहार गरे । ‘हामी तराईका मान्छे, हिमाललाई राम्रोसँग बुझेका पनि छैनौं, सबैले भाइलाई जीवित भेट्ने सम्भावना छैन भनेका छन् । मृत भए पनि खोजिदिनूस् भनेर अनुरोध गरिरहेको छु,’ उनले भने ।

 

सन् २०१२ मे, ल्होत्से आरोहण दलमा जर्मनीका एक अनुभवी गाइडसहित छिरिङजाङ्बु शेर्पा पनि थिए । जर्मन गाइड ल्होत्सेको तेस्रो शिविर (७,३०० मिटर) मा दुई रात बसे । उचाइमा धेरै रात नबस्न छिरिङजाङ्बुले सुझाएका थिए । तर, उनले हाई अल्टिच्युड सिकनेस (उचाइमा हुने बिरामी )का बारेमा राम्रो ज्ञान भएको भन्दै टेरेनन् । छिरिङको टोली भने दोस्रो शिविर (६,६०० मि.) झर्‍यो । भोलिपल्ट छिरिङलगायतको टोली तेस्रो शिविरमा पुग्दा ती गाइड सुरक्षाका लागि लगाइएका सबै सामान खोल्दै थिए । शेर्पाहरू पुग्दा उनी आइस स्क्र्याप खोल्दै थिए । उनलाई अल्टिच्युड सिकनेस भइसकेको सबैले थाहा पाए । शेर्पाहरू मिलेर ओरालेर हिमालयन उद्धार संघको स्वास्थ्य शिविरमा उपचार गरियो । चिकित्सकले पूर्ण रूपमा ठीक हुन तीन साता लाग्ने बताए ।

‘थोरै ढिला पुगेको भए नभेट्ने थियौं,’ छिरिङजाङ्बुले भने, ‘हाई अल्टिच्युडका कारण हुने दिग्भ्रम (म्याडनेस) ले धेरैलाई समस्या हुन्छ । त्यस्तो बिरामीले सबैथोक उल्टो देख्छन् । उकालो जानुपर्नेमा ओरालो झर्ने, भीरलाई समथर देख्ने, सेफ्टीहरू खोलेर फाल्ने, हाम फाल्ने गर्छन् ।’ एक्लै हुँदा त्यस्तो भएमा धेरैजसो आरोही भीरबाट हाम फालेर हराउँछन् । कतिपय शेर्पाहरू ८ हजार मिटरमाथि हिलारी स्टेप आसपासबाट तिब्बततर्फ हाम फाल्ने गरेको छिरिङजाङ्बुले बताए ।

रन्जित कसरी सगरमाथामा बेपत्ता भए भन्नेबारे यसै भन्न सकिने अवस्था छैन । तर, उनी कसरी हराए भन्नेबारे केही विवरण भने छन् । जेठ ११ को राति रन्जितकुमार गाइड लाक्पानुरी शेर्पासँग अन्नपूर्ण ट्रेक्स एन्ड प्रालिको समन्वयमा सगरमाथाको साउथ समिट उक्लिँदै थिए । सगरमाथाको चुचुरो पुग्न २ सय मिटर बाँकी रहेका बेला रातको १।५५ बजे उनीहरूको जीपीएस अफ भयो । अन्नपूर्ण ट्रेक्सका ङिमादेन्डी शेर्पाले काठमाडौंमै बसेर जीपीएस ट्र्याकिङ गरिरहेका थिए । ‘साउथ समिटबाट तीनदेखि पाँच घण्टाभित्र चुचुरोमा पुगिसक्नुपर्ने थियो,’ उनले भने, ‘आधार शिविरबाट वाकीटकी सेटमा सम्पर्क गर्न लगाएँ । तर, कुनै प्रतिक्रिया आएन ।’

साउथ समिट उक्लिएकै दिन वा भोलिपल्टसम्म रन्जित चौथो शिविर फर्किन्छन् भन्ने आशा थियो । गाइड साथैमा भएकाले सम्पर्कमा आउलान् भन्ने थियो । तर, उनीहरू चुचुरो पुगेको खबर आएन । आधार शिविर पनि फर्केनन् । सगरमाथामै बेपत्ता भए । अल्टिच्युड सिकनेस विशेषज्ञ चिकित्सक डा। सुवासले भनेजस्तै रन्जित र उनका गाइड हाई अल्टिच्युड सिकनेसको सिकार भए त रु यसै भन्न सकिने अवस्था छैन ।

सन् २००८ मेमा लाक्पा राङडु शेर्पा एक भारतीय महिला आरोहीको गाइडका रूपमा सगरमाथा चढ्दै थिए । ती महिलाको चढाई अत्यन्तै सुस्त थियो । चौथो शिविरदेखि अधिकांश आरोहीलाई राति ९ बजे आसपास आरोहणका लागि हिँडाइन्छ । तर, ती महिलालाई लाक्पाले अघिल्लो दिन मध्याह्न ४ बजेतिरै उकाले । धेरै अक्सिजनको खपत हुने भएकाले उनले आरोही महिलालाई ८ बोतल र आफूलाई तीन गरी ११ बोतल बोके । अक्सिजन जोगाउनुपर्ने भएकाले आफ्नो अक्सिजनको लेभल ०।२ मा राखे । भारीसहित उकालो जाँदा उनलाई गाह्रो भयो । हिँड्दाहिँड्दै उनले जंगलजस्तो ठाउँ र बोटबिरुवा देख्न थाले । खुला चौरजस्तो ठाउँ पनि देखे । तर, त्यतिबेलै आफूलाई हाई अल्टिच्युड सिकनेसको लक्षणको महसुस गरे । अक्सिजनको लेभल २ मा पुर्‍याए । केही घण्टापछि सामान्य अवस्थामा फर्किए ।

‘झन्डै मलाई गाह्रो भएको थियो । क्लाइन्टलाई जोगाउने हुँदा गाइडकै ज्यान जान्छ,’ लाक्पा राङडुले भने, ‘धेरैले त्यसरी ज्यान गुमाएका छन् ।’ १२ पटक सगरमाथाको सफल आरोहण गरेका लाक्पाले पछिल्लो समय कतिपय घटनाचाहिँ कम्पनीको लापरबाहीले पनि हुने गरेको बताए । कम्पनीले गाइड शेर्पाको क्षमता पहिचान नगरी शेर्पा भन्नेबित्तिकै ‘सकिहाल्छन् नि ∕’ भनेर जोखिम मोल्ने गरेको उनले बताए । व्यापारिक दृष्टिबाट मात्र कम्पनीले काम गर्ने उनको भनाइ छ । ८ हजार मिटरभन्दा माथि अक्सिजनको मात्रा त्यसै पनि कम हुन्छ । सास फेर्दा पाइपमा अक्सिजन जमेर बरफ बन्छ । हिमाली क्षेत्रको पर्यटनमा ३० वर्षभन्दा बढी बिताइसकेका लाक्पा राङडुका अनुसार यस्तो बेला अनुभवी गाइडले सहयोग गर्न नसके आरोहीको ज्यानै जाने खतरा रहन्छ ।

शव ल्याउनै समस्या

गएको वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा १७ जनाको ज्यान गयो । यसमध्ये आठ जना अझै बेपत्ता छन् । केही आरोहीको शवसमेत सगरमाथामै भेटिएको छ । सगरमाथाको उचाइ मापनमा समेत आरोहण गरेका खिमलाल गौतमले चौथो शिविरबाट एउटा शव आधार शिविरसम्म झार्न कम्तीमा ६ जना शेर्पा चाहिने र करिब ५० हजार डलर खर्च लाग्ने बताउँछन् ।

आरोहणका क्रममा मृत्यु भएका कतिपय आरोहीको शव नल्याई उनीहरूका नामको बिमा रकम परिवारले बुझ्ने गरेका छन् । शवको खोजी गर्न र तल झार्न परिवारबाट सम्भव नहुने हुँदा हिमाललाई शवमुक्त बनाउन ‘एक्सपिडिसन इथिक्स’ तय गरी लागू गर्नुपर्ने गौतमको भनाइ छ । ‘शव र फोहोर व्यवस्थापन गर्न एउटा कोष बनाउनुपर्छ,’ उनले भने, ‘अहिलेको गार्बेज धरौटीको रकम फिर्ता नगरी त्यो कोषमा जम्मा गर्न सकियो भने शव ल्याउन सहज हुन्छ । आरोही तथा एक्सपिडिसन सञ्चालकहरू पनि यसमा सकारात्मक देखिन्छन् ।’

पाँच वर्षदेखि नेपाली सेनाको नेतृत्वमा सगरमाथा, ल्होत्से, मकालु, अन्नपूर्ण, आमाडब्लम, धौलागिरि, पुमोरी र वरुणत्से सफाइ हुँदै आएको छ । सेनाले सगरमाथाबाट २०१९ मा ४, २०२१ मा दुई शवका अतिरिक्त एक कंकाल निकालेको थियो । २०२३ मा सगरमाथा सफाइका अभियान प्रमुख तथा नेपाली सेनाका सेनानी आदित्य कार्कीले एउटा लास ८ हजार मिटरभन्दा माथिबाट ल्याउन कम्तीमा ७ देखि १० जना चाहिने बताए । एक जना बराबर ५ लाखको हिसाब गर्ने हो भने पनि ५० लाख रुपैयाँ आसपास खर्च लाग्ने कार्कीले बताए । ‘आठ हजारभन्दा माथि एक जनाले आफूलाई चाहिने सामग्रीबाहेक बढीमा १२ किलो बोक्न सक्छ । एउटा शवको तौल औसतमा ७० देखि ८० किलो हुन्छ,’ कार्कीले भने, ‘फेरि शव मानवअधिकारको कोणबाट सुरक्षित ल्याउन धेरै खर्च लाग्छ ।’

नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले सगरमाथा क्षेत्रबाट एउटा शव काठमाडौंसम्म ल्याउन लगभग २५ लाख खर्च लाग्ने बताए । ‘हामीले नेपाल सरकार र अन्य सहयोगी निकायको सहयोगमा २०१९ देखि नेपाली सेनाले व्यवस्थापन गरेर हिमाल सफाइ थालेका हौं,’ भण्डारीले भने, ‘बजेट पर्याप्त हुने हो भने सेनाले हिमालबाट शव निकाल्ने काम गर्न सक्छ ।’ नेपाल सरकारले हिमाल सफाइ अभियान भनेर वार्षिक ८ करोड आसपासमा खर्च गर्दै आएको छ ।

कानुन बाधक

सगरमाथामा मृत्यु भएकाको शव ल्याउनलाई पर्वतारोहणसम्बन्धी कानुन व्यावहारिक नभएको नेपाल पर्वतारोहण पथप्रदर्शक संघका महासचिवसमेत रहेका छिरिङजाङ्बु शेर्पाको तर्क छ । ‘मृत्यु भएका वा बेपत्ता आरोही जुन कम्पनीमार्फत गएको हो, सोही कम्पनीले ल्याउनु भन्ने कानुनी प्रावधान पर्वतारोहण नियमावली, २०५९ मा छ,’ उनले भने, ‘तर, त्यो नियमावलीले भनेजस्तो सजिलो व्यवहारमा छैन । शव उद्धार गर्नलाई छुट्टै उद्धार टोली आवश्यक पर्छ । त्यसका लागि लाग्ने शुल्क कसले व्यहोर्ने भन्नेमा सरकारले सोच्नुपर्छ ।’

हिमालमा भेटिने शव हस्तान्तरण गर्ने प्रक्रियाबारे बेग्लै कानुन छैन । पर्यटन विभागका अनुसार, कुनै पनि हिमालमा उद्धारका क्रममा भेटिएका शवलाई सम्बन्धित आरोहण सञ्चालन गर्ने कम्पनीले शेर्पा गाइड र हेलिकोप्टरसँग समन्वय गर्दै आधार शिविर वा हेलिप्याडसम्म पुर्‍याउँछन् । त्यहाँबाट ती शवलाई पोस्टमार्टम गर्नुपर्ने भएकाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याउने गरिन्छ । ‘शिक्षण अस्पतालले पोस्टमार्टम गरेपछि हिमालमा पदयात्रा र आरोहणमा लैजाने कम्पनीको संयोजनमा आफन्तजन वा विदेशी भए दूतावासमार्फत परिवारजनलाई बुझाइन्छ,’ पर्यटन विभागका निर्देशक युवराज खतिवडाले भने, ‘यसमा छुट्टै नियम छैन । अन्य घटनामा जस्तै शवको हस्तान्तरण प्रक्रिया समान छ ।’

 

सरकारले सगरमाथा आरोहणलाई सुरक्षित बनाउने हो भने संख्यात्मक आरोहण वृद्धि नगरी गुणात्मक आरोहणलाई प्राथमिकता दिनुपर्ने शेर्पाहरूको भनाइ छ । दक्ष शेर्पाहरू समेटेर उद्धार टोली बनाउनुपर्छ । उद्धार टोलीलाई आरोहण मौसमको बेला साउथकोल र शिखर नजिक दुई टोली बनाइराख्न सके ८ हजार मिटरमाथि हुने मृत्यु कम गर्न सकिने छिरिङ जाङ्बु बताउँछन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले बेपत्ता शवको उद्धार गर्ने विषय नेपाल सरकारबाटै नीतिगत रूपमा व्यवस्था हुनुपर्ने बताए । ‘यदि शव हिमालमा रहेको थाहा भएमा त्यसको उद्धार गर्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ,’ निमानुरुले भने, ‘जुन आरोहण सिजनमा बेपत्ता भएको हो, त्यो सिजनमा वा अर्को सिजनमा भए पनि शव खोज्न र उद्धार गर्नका लागि खटिने उद्धारकर्तालाई आरोहण सहजीकरण गर्नुपर्छ ।’

पर्यटन विभागका निर्देशक तथा साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका प्रमुख राकेश गुरुङले पर्यटन नियमावली, २०५९ संशोधनको अन्तिम चरणमा रहेको बताए । नियमावलीको अन्तिम ड्राफ्टमा मन्त्रीस्तरीय छलफल भइसकेको उनले बताए । ‘केही मिलाउनुपर्ने कुरा मिलाएर छिट्टै संसद्मा जान्छ,’ गुरुङले भने, ‘एक महिनाभित्र पर्यटन नियमावली संशोधन भएर आउँछ र पर्यटन ऐन, २०३५ पनि संशोधन गर्ने तयारीमा छौं ।’ हिमालमा बेपत्ता शवको सन्दर्भमा कतिपय विदेशी आरोहीले उनीहरूकै

देशमा करोडौं रुपैयाँको बिमा गर्ने र यहाँका हिमालमा हराएपछि शव खोज्नका लागि त्यो पैसा खर्च नगर्ने निर्देशक गुरुङले बताए । ‘जुन एजेन्सीले आरोहणका लागि लगेको हो, उसैले ल्याउने हो भने ५० देखि ६० लाख खर्च हुने देखिन्छ,’ उनले भने, ‘शव खोजेर ल्याउने काम एजेन्सीबाट मात्र सम्भव छैन । किनभने, नेपालमा एक जना आरोहीको १०–१५ लाखको मात्र बिमा गर्ने चलन छ ।’

एजेन्सीले ल्याउन सक्ने शव पनि बेपत्ता भनेर यदाकदा ‘मिसिङ पोलिटिक्स’ गरिएको पर्यटन विभागले जनाएको छ । यसै वर्ष सगरमाथामा मृत्यु भएका अस्ट्रेलियन आरोही जेसन बर्नाड केन्निसनले अस्ट्रेलियामा ३२ करोड नेपाली रुपैयाँ बराबरको बिमा गरेको भन्ने सुन्नमा आएको निर्देशक गुरुङले बताए । ‘अबको नियमावलीमा विदेशी आरोहीले बिमा गरेको डकुमेन्ट पनि राख्ने व्यवस्था गरेका छौं,’ विभागका निर्देशक गुरुङले भने, ‘यदि बेपत्ता भएको भनिएको आरोहीको शव अर्को वर्ष बाटोमै देखियो भने जुन एजेन्सीमार्फत गएको हो, सोही एजेन्सीले जसरी भए पनि ल्याउनुपर्ने व्यवस्था थप गरेका छौं ।’

तालिम र अनुभवबिना आरोहणको अनुमति नदिने व्यवस्था गर्नुपर्ने अनुभवी आरोहीहरूको भनाइ छ । सगरमाथा आरोहणलाई व्यवस्थित गर्ने हो भने अहिलेको भन्दा धेरै आम्दानी गर्न सकिनेछ । तिब्बततर्फबाट आरोहण गर्दा १६ हजार डलर र नेपालतर्फ ११ हजार डलर रोयल्टी तिर्नुपर्छ । अमेरिकी पत्रकार तथा लेखक एलिजावेथ हलीले स्थापना गरेको संस्था हिमालयन डेटा बेसको तथ्यांकअनुसार अघिल्लो वर्षसम्ममा ३६ प्रतिशत सगरमाथा आरोहण तिब्बततर्फबाट र ६४ प्रतिशत नेपालतर्फबाट भएको देखिन्छ । मृतक आरोहीको संख्या नेपालतर्फ ६६ प्रतिशत छ भने तिब्बततर्फ ३४ प्रतिशत छ । हिमालयन डाटाबेसका अनुसार सगरमाथा आरोहणका क्रममा पहिलो मृत्यु ५ जुन १९२१ मा भएको थियो । त्यतिबेला करिब ५७ सय मिटरको उचाइमा अलेक्जेन्डर केलासको मृत्यु भएको थियो ।

मृत्यु र बेपत्ताबारे बेखबर

सगरमाथामा हालसम्म कति जनाले ज्यान गुमाए भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन । हिमालयन डेटाबेसका अनुसार यस वर्ष सगरमाथा आरोहणका क्रममा मृत्यु भएका १७ जनासहित चीन र नेपाल दुवैतर्फ गरी ३ सय ४० जनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा धेरैजसो शेर्पा समुदायका छन् । त्यसमध्ये कति बेपत्ता भए र कति शवको उद्धार हुन बाँकी छ भन्ने तथ्यांक पनि सरकारी निकायमा उपलब्ध छैन । पर्वतीय पर्यटनका बारेमा अध्ययन गरिरहेका हिमालयन इन्स्टिच्युट अफ टुरिजम एजुकेसन एन्ड डेभलपमेन्ट नामक संस्थाका प्रमुख अनिश दाहालका अनुसार सगरमाथामा मृत्यु भएकामध्ये ६८।४ प्रतिशत बिरामी भएर, २६।१ प्रतिशत लडेर र ५।४ प्रतिशत विभिन्न विपत्तिमा परेर भएको देखिन्छ ।

सन् २०२० मा युनिभर्सिटी अफ वासिङ्टनका अवकाशप्राप्त मानार्थ प्रोफेसर रेमोन्ड हुएसहितका चार अध्येताले सन् १९२१ देखि २००६ सम्म सगरमाथा आरोहणमा भएका मृत्युहरूबारे गरेको अध्ययनमा ५४ प्रतिशतको मृत्यु विपत् र जोखिममा परेर भएको छ । अध्ययनमा बाँकी ४६ प्रतिशतको मृत्यु हाई अल्टिच्युडलगायत समस्याले भएको उल्लेख छ । यस अध्ययनले पहिलेभन्दा अहिले सगरमाथा आरोहणको तयारी एकदमै असुरक्षित र हतारमा भएको अनुमान गर्न सकिने दाहाल बताउँछन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...