नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी सञ्चालन पद्धति र नेपालको वामपन्थी आन्दोलनको वर्तमान अवस्थालाई लिएर कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, “पार्टी जिम्वालको मौजा होइन, कसले बोल्न पाउँछ र कसले पाउँदैन भन्न।” उनले नेतृत्व तहमा रहनेहरूको प्रवृत्तिमाथि प्रश्न उठाउँदै आफू कमजोर हुँदा अधिकारको कुरा गर्ने र बलियो भएपछि अरूको आवाजलाई ‘अराजकता’ देख्ने प्रवृत्ति सदाबहार सत्य बनेको टिप्पणी गरेका छन्।
उनले अगाडि लेखेका छन्, “कमजोर हुँदा अधिकार—बलियो हुँदा अराजकता! जुनसुकै सत्ता वा नेता—हिजो, आज र भोलिको सदाबहार सत्य यही हो।”
बास्कोटाले नेपालका समग्र वामपन्थी पार्टीहरूको भविष्य र दिशामाथि पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। वर्तमान राजनीतिक अन्योललाई उनले इतिहासको कठिन कालखण्डसँग तुलना गरेका छन्। उनले भनेका छन्, “नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा पुगेका छन्, क्रसरोड मा उभिएको यात्री झैँ।”
२०१७ सालमा राजा महेन्द्रले कु गरेपछिको एक दशक (२०२७ सम्म) नेपाली कम्युनिस्ट आन्दोलन विभाजन, अन्योल र रक्षात्मक अवस्थामा रहेको थियो। बास्कोटाले अहिलेका वामपन्थी दलहरू पनि त्यस्तै दिशाहीन अवस्थामा पुगेको दाबी गरेका हुन्।
पार्टी जिम्वालको मौजा होईन,कस्ले बोल्न पाउँछ र कस्ले पाउँदैन भन्न।कम्जोर हुदा अधिकार -बलियो हुदा अराजकता ! जुनसुकै सत्ता न नेता -हिजो,आज र भोलीको सदाबहार सत्य यै हो।तर नेपालका बामपन्थी पार्टीहरु चै ठ्याक्कै 017-027 को हालतमा पुग्या छन,क्रसरोडमा उभिएको यात्री झै।
वि.सं.२०८३ भदौ ७ आइतवार ०८:५७


















