बालेन शाहको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न : ‘वास्तविक उद्देश्य के हो ?’
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को मुस्ताङ भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । कुनै औपचारिक जानकारीबिना प्रधानमन्त्री लोमान्थाङ गएको भन्दै उनले यसको वास्तविक उद्देश्यबारे सरकारसँग जवाफ मागेका हुन् ।
प्रधानमन्त्री शाह भ्रमणका क्रममा मुस्ताङको लो घ्याकर गुम्बा र दामोदर कुण्ड पुग्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ । यसै सन्दर्भलाई जोड्दै नेता बस्नेतले केही दिनअघि मात्र अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे.हार्करले पनि मुस्ताङका गुम्बाहरूको भ्रमण गरेको स्मरण गराएका छन् । यी दुई घटनालाई जोडेर उनले प्रधानमन्त्रीको भ्रमणमाथि आशङ्का व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले सरकारको कामकारबाही पारदर्शी नभएको आरोप लगाएका छन् । ‘कुनै औपचारिक कार्यक्रमबारे सार्वजनिक जानकारी दिइएको छैन,’ उनले लेखेका छन्, ‘सुरक्षा संयन्त्रलाई समेत जानकारी नगराइएको प्रधानमन्त्रीको भ्रमणको उद्देश्य र कार्यक्रमबारे सरकारले स्पष्ट जानकारी दिनुपर्छ ।’
सरकारी भ्रमण सधैँ पारदर्शी र जबाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन् । विदेशी कूटनीतिज्ञको भ्रमण लगत्तै देशको कार्यकारी प्रमुख त्यसै क्षेत्रमा गुपचुप पुग्नुलाई उनले संयोग मात्र मान्न नसकिने सङ्केत गरेका छन् । ‘यो कुनै षड्यन्त्र नभई संयोग मात्र हो भने पनि जनताका प्रश्नको जवाफ आवश्यक छ,’ बस्नेतले अगाडि लेखेका छन्, ‘सरकारी भ्रमणमा पारदर्शिता र जबाफदेहिता हुनुपर्छ ।’उनले प्रधानमन्त्री शाहलाई सिधै सम्बोधन गर्दै मुस्ताङ भ्रमणको लुकेको पाटो सार्वजनिक गर्न र जनताको आशङ्का मेटाउन माग गरेका छन् ।

वि.सं.२०८३ भदौ ७ आइतवार ०९:१२


















