महिला यू–१९ एसिया कपको ‘सुपर–४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर४’ मा आज नेपाल श्रीलंकासँग भिड्दै छ।
खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार ११ः४५ बजे सुरु हुनेछ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर(४ मा पुगेको हो।
समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एकरएक अंक बाँडेका थिए।
तर रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेतामा सीमित भयो।
गत आइतबारदेखि जारी प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सहभागी छन्।
जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन्।
पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन्।
प्रतियोगितामा पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोली सहभागी छ।
उपकप्तानमा सोनी पाख्रिन छिन् भने टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन्। यसैगरी तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत पनि टोलीमा समावेश छन्।
प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ।
वि.सं.२०८१ पुस ४ बिहीवार ११:११
















