त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिपर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । ‘साँझतिर एउटा एक्साभेटर र एउटा टिपर बगाएको थियो,’ उनले भने, ‘सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिपर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।’
नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिपर, दईवटा एक्साभेटर नदीको बीचमा फसेका थिए । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ ।
वि.सं.२०८१ असोज १२ शनिवार ०९:०१
















