रुसी सेनामा भर्ना भएका नेपालीलाई करार रद्द गर्न रुसले सहमति दियो : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । वैदेशिक रोजगारीको सिलसलमा रुस पुगेर रुसी सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । यद्यपि यसको मोटालिटी तय हुनचाँही बाँकी रहेको बताए ।
सोमबार संसदमा परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने बारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ । तर, त्यसको मोडालिटी तय हुन बाँकी छ । यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको छ ।’
परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी भएकालाई नेपाल फर्काउन पनि मन्त्रालयले उच्च प्राथमिकता दिइरहेको बताए ।
पहिले भएको सम्झौता अन्तर्गत केही मित्र राष्ट्रको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन नदिने नेपाल सरकारको नीति रहेको कुरा सम्बन्धित सबै राष्ट्रलाई स्पष्ट गराएको पनि श्रेष्ठले संसदमा जानकारी दिए।
उनले रुसी सेनामा नेपालीको ज्यान गएको बारेमा औपचारिक रुपमा सरकारलाई जानकारी प्राप्त भएपछि नेपाल सरकारले रुसी सरकार समक्ष लिखित र मौखिक रुपमा आफ्नो माग प्रस्तुत गरेको जानकारी श्रेष्ठले संसदलाई गराएका छन् ।
उनले भने, ‘रुसी सेनामा भर्ना भइ ज्यान गएकाको शव नेपाल पठाउने, घाइते तथा मृत्यु भएका पीडित परिवारलाई क्षतिपूर्ति गराउने, र नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउने र युक्रेनमा युद्धबन्दी भएका नेपालीलाई सिग्र रिहाई गर्ने हाम्रा स्पष्ट अडान हुन्’, ।
वि.सं.२०८० चैत ५ सोमवार १४:२९
















