पाठेघरसम्बन्धी शिविरबाट दुई सय बढी लाभान्वित
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट दुई सय ५० जनाले स्वास्थ्य सेवाबाट लाभाम्वित भएका छन् ।
यहाँका महिलाको स्वास्थ्य तथा पाठेघर जाँचसम्बन्धी स्वास्थ्य शिविर पालिकाले स्वास्थ्य चौकीमै सञ्चालन गरेको हो । शिविरमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।
स्वास्थ्य शिविरमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको छ । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलामा प्रजनन स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताए ।
वि.सं.२०८० फागुन १० बिहीवार १५:३२
















