वरिष्ठ लोकगायक जयनन्द लामाको निधन
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो। कलाकार कृष्ण मल्लका अनुसार आज विहान घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको मल्लले जानकारी दिए ।
बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।
विभिन्न विद्यालयमा उहाँ सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।
वि.सं.२०७८ फागुन ११ बुधवार १३:३७
















