जाडो मौसममा स्वस्थ रहन के गर्ने ? यस्तो छन् उपाय
काठमाडौं । जाडो मौसमको बेला स्वास्थ्यमा देखिने समस्याले तनाव बजाउने गरेको छ। चिसो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन्छन् । चिसो मौसममा हुने स्वास्थ्य समस्याबाट आफूलाई सजिलै जोगाउन सकिन्छ। चिसो मौसममा स्वस्थ रहन अपनाउनु पर्ने केही उपायबारे चर्चा गरौं।
खानपानमा ध्यान दिने
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ। सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ। तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ।
वजन बढ्न नदिने
जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ। मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ। त्यसैले जाडोमा मानिस मोटाउने गर्छन्। त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ। किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ।
शरीरलाई क्रियाशील राख्ने
जाडो मौसममा कम हिड्ने, फुर्सद हुनेबित्तिकै सिरक ओढेर सुत्ने बानी धेरैको हुने गरेको छ। यस्तो बानीलाई जतिसक्दो चाडै सुधार्नु पर्छ। बिहान व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम कम हुन्छ।
वि.सं.२०८० पुस १८ बुधवार १०:२४
















