महिला विश्वकपको नयाँ तस्बिर
काठमाडौ ।महिला विश्वकप– २०२३ ले अन्तर्राष्ट्रिय फुटबलका केही स्थापित तथ्य मेटेको छ, जुन सुखद छ । अब भन्न थालिएको छ– महिला फुटबलमा जे हुन्छ, राम्रो हुन्छ ।
भाद्र २, २०८०
फुटबलको एउटा राम्रो प्रतियोगिता चल्न के–के चाहिन्छ रु अलिकति नाटक, अलिकति विवाद, अलिकति विद्रोह, अलि धेरै अप्रत्याशित नतिजा, बाक्लो चर्चा, अपार दर्शक १ अझ भनौं, सबथोक चाहिन्छ, फुटबलको एउटा राम्रो प्रतियोगिता उम्दा हुन । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको ‘महिला विश्वकप–२०२३’ लगभग यस्तै रह्यो । महिला फुटबलको सबैभन्दा ठूला प्रतियोगितालाई यसपल्ट ‘खुबै सफल’ भन्न सकिने भयो ।
भोलि फाइनल छ र यसले नयाँ च्याम्पियन पाउने छ । फाइनलमा भिड्दै छन्, दुई युरोपेली देश स्पेन र इंग्ल्यान्ड । पुरुष फुटबल हुँदो हो त यी दुई देश पराम्परिक रूपमै महाशक्ति भइहाले । महिला फुटबलको कुरा धेरै फरक छ । स्पेन र इंग्ल्यान्ड दुवै फाइनल पुगेकै पहिलोपल्ट हो । अझ स्पेनको कुरै अर्को, क्वाटरफाइनल र सेमिफाइनल पनि उसका लागि नयाँ हो । यस्तोमा तय छ, महिला विश्वकपको ट्रफीमा विजेताका रूपमा नयाँ नाम कोरिनेछ ।
सबैभन्दा पहिले स्पेनकै कुरा । पुरुष फुटबलमा स्पेन समृद्ध भए पनि महिला फुटबलमा यो गरिबै छ । धेरै राम्रो इतिहास छैन, स्पेनी महिला फुटबलको । गत वर्षसम्म त स्पेनी फुटबल भद्रगोल स्थितिमै थियो । जोर्गे भिल्डा हुन्, स्पेनी महिला फुटबल टिमका प्रशिक्षक । पछिल्लो सेप्टेम्बरमा लगभग पूराका पूरा टिमले नै उनीविरुद्ध विद्रोह गरेको थियो । टिमका प्रमुख १५ खेलाडीले स्पेनी फुटबल संघलाई इमेल गर्दै भनेको थियो– हामी भिल्डाको नेतृत्वमा खेल्न चाहँदैनौं ।
खेलाडीलाई प्रशिक्षकको पारा नै मन परेको थिएन । तर, संघले खेलाडीका कुरा सुनेन । भिल्डा नै प्रशिक्षकमा कायम भए । विद्रोही खेलाडीमध्ये तीन जना मात्र यसपल्टको विश्वकप खेलिरहेका छन् । सुरुमै सबैको मनमा थियो– यो टिमले केही गरेर खाँदैन विश्वकपमा । लिग चरणकै एक खेलमा स्पेन जापानसँग नमज्जाले पराजित भएको थियो । हारको अन्तर थियो, ४–० । स्पेनले यो खेलमा केही पनि गर्न सकेन, हारलाई लाचार भएर स्विकार्यो ।
यस्तोमा अर्कोखाले प्रतिक्रिया आउन थालेको थियो– स्पेन नकआउट चरणमा त पुग्यो, तर यसको यात्रा यत्ति मात्र हो । तर होइन, स्पेन फाइनलमै पुग्यो । यस क्रममा उसले स्पेन र स्विडेनजस्ता बलिया टिमको चुनौती काटेको थियो । स्पेनको तुलनामा इंग्ल्यान्डको फाइनल यात्रा धेरै अर्थमा सुमधर रह्यो । यसपल्टको विश्वकपलाई एउटा सिनेमा मान्ने हो भने यसका प्रमुख पात्रका रूपमा अगाडि आएको छ, इंग्ल्यान्ड । त्यसमाथि इंग्ल्यान्ड त युरोपेली च्याम्पियन ।
इंग्ल्यान्डले गत वर्ष घरमै भएको महिलाको युरोपेली च्याम्पियनसिप जितेको थियो । त्यसको ठीक अघि इंग्ल्यान्डको महिला फुटबलको कथा पनि बेग्लै थियो । टिम पनि राम्रो, खेलाडी पनि राम्रा । तर, ठूला प्रतियोगितामा अन्त्यसम्म राम्रो गर्न नसक्ने । सेमिफाइनल वरिपरि पुगेपछि ‘अब पुग्यो’ भनेर हात उठाउने बानी भएको टिम थियो यो । त्यसैले त्यही युरोपेली च्याम्पियनसिप अगाडि एउटा ठूलो निर्णय गरियो– प्रशिक्षकमा डच प्रशिक्षक सरिना वेगमन झिकाउने ।
विश्वकप फाइनलमा भिड्दै छन्– स्पेन र इंग्ल्यान्ड । दुवै देश फाइनल पुगेको पहिलोपल्ट हो ।
सुरुमा विरोध भएको थियो, ‘किन पो चाहियो इंग्ल्यान्डलाई विदेशी प्रशिक्षक रु’ । तर, उनी के आए, इंग्लिस महिला फुटबल टिमका राम्रा दिन सुरु भए । युरोपेली च्याम्पियनसिप त जित्यो, अब विश्वकप नै जित्ने संघारमा छ, इंग्ल्यान्ड । फाइनलमै पनि इंग्ल्यान्डले जित्छ भन्दा त्यो सुरक्षित स्थिति हुन्छ । तर, पूरा प्रतियोगिताकै विशेषतालाई आधार मान्ने हो भने यसमा पनि जोखिम उत्तिकै छ, कुन बेला के हुने हो रु भन्नै नसकिने ।
खासमा महिला फुटबललाई चाहिएकै यस्तै विश्वकप थियो । यो विश्वकपले अन्तर्राष्ट्रिय महिला फुटबलका केही स्थापित तथ्य मेटेको छ, जुन साँच्चै सुखद छ । यति भनेपछि अमेरिकाको कुरा निस्कने नै भयो । अमेरिका महिला फुटबलको सबैभन्दा ठूलो टिम हो, त्यसैले त यसले चारपल्ट विश्वकप जितेको छ । त्यसपछि अमेरिका पछिल्ला दुई विश्वकपको विजेता थियो । दुईपल्टको डिफेन्डिङ च्याम्पियनको रूपमा अस्ट्रेलिया र न्युजिल्यान्ड पुगेको थियो, अमेरिका । भन्नेले भनिरहेका थिए, यसपल्ट पनि जित्ने अमेरिका नै हो । अमेरिकी खेलाडीमा पनि एकखाले दम्भ थियो– हामीबाहेक जित्ने अरू कोही होइनन् भनेर । केही विपक्षी टिमले त हाकाहाकी भनेका पनि थिए, अमेरिकी खेलाडीको घमन्डी पारा हेरिनसक्नु छ । तर, अमेरिकाले लिग चरणमै राम्रो गर्न सकेन । बल्लबल्ल नकआउट चरणको यात्रा निश्चित गरेको थियो । अन्ततः अमेरिका अन्तिम १६ मै रोकियो, स्विडेनको हातबाट ।
अमेरिका मात्र होइन, यसपल्ट ठूला भनिएका अरू टिमको प्रदर्शन पनि गतिलो हुन सकेन । दुईपल्टको च्याम्पियन जर्मनीले समूह चरण नै काट्न सकेन । जर्मनी समूह ‘एच’ मा थियो, जुन उसका लागि निकै सजिलो थियो । तर, कोलम्बिया, मोरक्को र दक्षिण कोरियाजस्ता टिम भएको समूहमै जर्मनी तेस्रो मात्र भयो । यो निकै कमजोर प्रदर्शन थियो । ब्राजिल पनि महिला फुटबलको पारम्परिक शक्ति नै हो, यो पनि समूह चरणमै रोकियो ।
यस्तै नाजुक स्थिति क्यानाडाको पनि रह्यो । क्यानाडा पेरिस ओलम्पिक्सको स्वर्ण पदक विजेता थियो, तर उसले पनि यसपल्ट नकआउट चरणको मुख देख्न पाएन । अमेरिका, जर्मनी, ब्राजिल र क्यानाडा जस्ता टिमको यो प्रदर्शनबाट निकालिएको एउटै तथ्य के भने अब विश्व महिला फुटबलमा पहिलेजस्तो एक खास टिम निकै बलियो हुने र अर्को टिम कमजोर हुने दिन रहेन । ठूलाठूला हार, जितको नतिजाबारे अब नसोचे हुन्छ ।
तिनै ठूला टिमको आँखैअघि यसअघि कमजोर मानिएका टिमले प्रगति गरेका छन् । त्यसैले त दक्षिण अफ्रिका, मोरक्को, नाइजेरिया र जमैकाजस्ता टिम नकआउट चरण पुगे । अरूबेला भए यी टिमले पनि विश्वकपमा केही गर्नेछ भनेर सोच्ने कामै हुँदैनथ्यो । महिला फुटबलका लागि यो जत्तिको राम्रो विज्ञापन अरू के नै हुन सक्छ र रु यसपल्टको विश्वकपमा सहभागी संख्या बढाएर ३२ टिम पुर्याइएको थियो । टिम बढेपछि एकोहोरो जित, हारको खेल होला भन्ने डर पनि थियो ।
तर, यो डर आखिरमा डरमै सीमित रह्यो, त्यस्तो केही भएन । खेलहरू अधिकांश रोमाञ्चक रहे । नाटकीय टाइब्रेकरहरू पनि एकपछि अर्को भए । त्यसैले दर्शकले कीर्तिमान संख्यामा रंगशालामै पुगेर फुटबल हेरे । टेलिभिजनबाट पनि विश्वकप हेर्ने ह्वात्तै बढे । मिडियामा विश्वकप छाई नै रह्यो । नत्र महिला फुटबल भनेपछि खालि रंगशालाको छवि अगाडि आउँथ्यो, अनि टेलिभिजनमै पनि कहाँ विश्वकपको रौनकता हुन्थ्यो र रु
अब महिला फुटबलमा जे हुन्छ, राम्रो हुन्छ, जे भयो राम्रो भयो भन्न थालिएको छ । यसपल्टको विश्वकप हेरेर उत्साहित हुने धेरैभन्दा धेरै किशोरीले अब फुटबल खेल्न थाल्नेछन् र उनीहरूले महिला फुटबलमा पनि राम्रो करियर देख्नेछन् । अब महिला फुटबल र यसको विश्वकप भनेपछि आँखा तर्नेहरू हुने छैनन् । विश्व महिला फुटबलको आकार बढ्ने छ र यसका आर्थिक आँकडा तथा सूचकांकहरू लोभलाग्दा हुनेछन्, आकर्षित हुनेछन् ।
यति भन्दाभन्दै पनि यसै विश्वकपमा केही खास टिमको भाग्य देखेर माया लागेर आउँछ । जस्तो, अस्ट्रेलिया नै । अस्ट्रेलियाका लागि सेमिफाइनल पुग्नु नै ठूलो थियो, तर मनमा कतै अस्ट्रेलिया नै फाइनल पुगेको भए कति राम्रो हुन्थ्यो भन्ने हुन्छ नै । स्विडेनको कुरा पनि यस्तै । सेमिफाइनलमा स्विडेनी चुनौती स्पेनले काटेको थियो । स्विडेनी फुटबल टिम उत्तिकै बलियो र राम्रो पनि । तर, ठूला प्रतियोगितामा सफलता नजिक पुगेर त्यहींबाट टाढिने टिम हो, स्विडेन ।
स्विडेनलाई वास्तवमै अभाग्यशाली टिम भन्दा केही फरक पर्दैन । रह्यो जापानको कुरा । जापान पूर्वविजेता त थियो नै, पूरा प्रतियोगिता उसले जत्ति राम्रो कसैले खेलेन । एउटा च्याम्पियनमा हुनुपर्ने टिमको सबै गुण जापानमा थियो । तर, जापानलाई रोकेको थियो स्विडेनले । नेदरल्यान्ड्स, फ्रान्स र कोलम्बियाजस्ता टिमले पनि धेरै राम्रो गरे, तर तिनको भाग्यमा अघि बढ्ने लेखिएकै थिएन । तिनीहरूको खेलले मन त जित्यो, तर यो मनमै मात्र रह्यो ।
वि.सं.२०८० भदौ २ शनिवार १२:४४
















