अर्थतन्त्र बलियो बनाउन कृषिमा यसरी बढाउनुपर्छ लगानी
हामी एकैपटक सबै कुरामा आत्मनिर्भर बन्न सक्दैनौं । यसका लागि क्रमबद्ध योजनामा काम गर्नुपर्छ । पहिलो चरणमा छनोटमा परेका केही उत्पादनमा आत्मनिर्भर हुने योजनाअनुसार सरकारले नीतिनिर्माण गर्नुपर्छ । निजी क्षेत्र यसमा सघाउन तयार छ। उ त सदैव सरकारको सही नीति र कार्यक्रमको प्रतिक्षामा हुन्छ ।
पछिल्लो समयमा अर्थतन्त्र भयानक रुपमा ओरालो लागेको छ । कृषि, उद्योग, व्यापार, शिक्षा, पर्यटन, एवंसम्पूर्ण आर्थिक क्षेत्र भित्र हाल भइरहेको गतिविधिहरुले राज्यलाई नै उथलपुथल बनाईरहेको छ। देशभित्रको आर्थिक अव्यवस्था,विभिन्न रोग एबम महामारी, बाह्य क्षेत्रमा चुलिंदो व्यापार घाटा र खस्किंदो रेमिटेन्स्का कारण सिर्जित विदेशी मुद्राको ढुकुटीमा तीव्र क्षयीकरणले अर्थतन्त्रमा खतराको घण्टी बजिरहेको छ ।
अर्थतन्त्र जमिन, श्रम र पूँजी नै उत्पादनका साधन हुन्। कुनै पनि देशको जमिन निश्चित हुन्छ। यसको परिमाण बढाउन नसकिए पनि यसको गुणात्मक वृद्धि सम्भव छ। चकलाबन्दी, उदेश्य अनुसार सम्याउने, आली तथा सिमाना बार लगाउने, प्रकृति र माटोको संरक्षण गर्ने तथा जैविक मल र सिँचाइको पहुँचले जमिनको गुणस्तर वृद्धि गर्न सकिन्छ। उत्पादनका अन्य साधनको तुलनामा श्रमिक मात्र सक्रिय साधन हो। श्रमिकमा भएको ज्ञान, सीप र दक्षताले श्रमको गुणस्तर वृद्धि हुन्छ। यसैगरी नयाँ प्रविधि भित्र्याउन पूँजी आवश्यक हुन्छ। निर्वाहमुखी परम्परागत कृषि क्षेत्रमा पूँजी र प्रविधिको प्रवेशलेमात्र यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायिकरण सम्भव हुन्छ। यसमा विशेष ध्यान दिएर सरकारले लगानी गर्नुपर्छ ।
अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानको हिसाबले हेर्ने हो भने यसले संरचनात्मक रूपान्तरण गरिसकेको छ तर कृषिमा आश्रित जनसङ्ख्या अझै ठूलो छ। अर्कातिर भारत, बाङ्लादेश र पाकिस्तानमा अर्थतन्त्रको रूपान्तरणको प्रक्रियामा केही बढी समय लाग्ने देखिएको छ। नेपाली अर्थतन्त्रको संरचनात्मक रूपान्तरण प्रक्रिया भने यी सबै छिमेकी मुलुकहरूभन्दा पनि निकै पछि देखिएको छ।
संरचनात्मक परिवर्तनका लागि आधारभूत रूपमा नै विभिन्न सूचकहरूमा परिमाणात्मक तथा गुणात्मक सुधार हुनुपर्छ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमिसुधारका माध्यमबाट भूमिको स्वामित्व उत्पादकमा हस्तान्तरण, जग्गाको चकलाबन्दी, उन्नत बीउ र मलको उपलब्धता, शीत भण्डारणको व्यवस्था, कृषियन्त्रको खरिदमा सहजिकरण, बाली विविधीकरण, कृषि उपजको बजार विस्तार, कृषि ऋणको व्यवस्था, कृषिमा अनुसन्धान र विकास, कृषि श्रमिकलाई तालिमको व्यवस्था, ग्रामीण क्षेत्रमा कृषि उद्योगको स्थापना, कृषि सडक र कृषि पूर्वाधारको व्यवस्था आदि पर्छन् । यसरी कृषि क्षेत्रमा लगानी गरेपछि अर्थतन्त्रमा ठूलो फट्को मार्न सकिन्छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार १५:४५
















