पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयभन्दा बढी स्याउका गाडी अलपत्र
बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीय उत्पादन बाहिरी जिल्ला पठाउन तथा आवश्यक सामग्री भित्र्याउन समस्या हुने गरेको छ । पछिल्लोपटक १२ भदौदेखिको सडक अवरुद्धले स्याउ बोकेका कन्टेनरहरू बाटोमै अड्किएका छन् ।
भदौ महिना जुम्ला, कालीकोट र मुगुमा उत्पादन भएका स्याउ निर्यात गर्ने सिजन हो । तर, चार दिनदेखिको सडक अवरुद्ध भएपछि स्याउ बोकेका सयभन्दा बढी गाडी कालीकोट सडकखण्डका विभिन्न ठाउँमा बाटोमै अलपत्र परेको हिमा गाउँपालिका– ३, मोफ्लाका स्थानीय बलबहादुर रोकायाले बताए । ‘चार–पाँच दिनदेखि स्याउका गाडी बाटोमै थन्किएका छन् । स्याउ कुहिएर खेर जाने चिन्ता बढेको छ,’ उनले भने, ‘समयमै सुर्खेत, नेपालगन्ज, दाङका बजारमा स्याउ बिक्री गर्ने अपेक्षा गरेर स्याउ ढुवानी गरियो । तर, करिब हप्ता दिनसम्मको सडक अवरुद्धले स्याउ कुहिएर खेर जाने भएपछि निकै घाटा व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’
यस वर्ष करिब ४० करोडबराबरको स्याउ जुम्लाबाट बहिरी जिल्ला पठाउने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘कर्णाली राजमार्ग पटक–पटकको अवरुद्धले स्याउ किसान र व्यापारी मर्कामा पर्ने स्थिति हुने देखिएको छ ।’
प्रतिनिधिसभा सांसद हृदयराम थानीले कर्णाली राजमार्ग लामो समयसम्म स्तरवृद्धि नभएको र दुई लेनको सडक निर्माण गर्न सदनमा सभामुखसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताए । यसपटक अवरुद्ध भएको सडक तीन–चार दिनसम्म नखुलेपछि हिमा गाउँपालिका– १ का वडाध्यक्ष रतनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेललाई ध्यानाकर्षण गरेका छन् । उनले भने, ‘कर्णाली राजमार्गको गगनेखोला र दैखोलामा बाढीपहिरो गई सडक अवरुद्ध हुँदा स्याउ बोकेका सयौँ गाडी अलपत्र अवस्थामा छन् । स्याउ किसान र व्यापारी मारमा पर्ने अवस्था आएको छ । सडक नखुल्दा स्याउ कुहिएर खेर जाने अवस्था सिर्जना भएको छ ।’
अवरुद्ध सडक छिटो खुलाउन र कर्णाली राजमार्ग स्तरवृद्धि गर्न हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको नेतृत्वमा गएको टोलीले शनिबार प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत नेपाल सरकार प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले अझै सडक खुलाउन समय लाग्ने बताए ।
पहिरो हटाउन दुईवटा टोली परिचालन
कर्णाली राजमार्गमा आएको भीषण पहिरो हटाउन कालिकोट र दैलेखबाट दुईवटा टोली परिचालन गरिएको छ । कालिकोट क्षेत्रमा भएको पहिरो हटाउँदै टोली दहिखोला पुग्नेछ । दैलेखको टोली मालाचौरदेखि पहिरो हटाउँदै दहिखोला पुग्नेछ । पहिरो खुलाउन डोजर, एक्स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी लिएर दैलेखका प्रमुख जिल्ला अधिकारी दुई दिनदेखि राकम कर्णाली क्षेत्रमै छन् । स्थानीय सरकार प्रमुखलगायतको टोलीसहित डोजर र लोडरसमेत परिचालन गरेर धमाधम काम भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
दैलेख खण्डको मालाचौरदेखि किट्टुको भिरसम्म पहिरोले क्षति गरेको छ । पहिला यो बाटो नखुलाएसम्म दहिखोला पुग्न सकिँदैन । शनिबार मालाचौरको सबै खण्ड सफा भएको छ । किट्टुको भिरको तल र माथि दुवै स्थानबाट पहिरो आएको छ । माथि निकै ठूलो र कडा चट्टान भएकाले सडकको तलबाट वाल उठाएर सवारी पास गर्ने तयारी भएको छ । ‘किट्टुको भिरलाई व्यवस्थापन गरेपछि बल्ल दहिखोला पुग्न सकिन्छ । लगातार काम भइरहेकाले आइतबार साँझसम्म बाटो खुल्छ कि भन्ने आशा छ,’ भुसालले भने ।
वि.सं.२०८१ भदौ १६ आइतवार ११:०२
















