मनसुन थप सक्रिय, अझै केही दिन वर्षा हुने
मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुनेछ । मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करीब अन्तिम अवस्थामा रहेको र अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न नमिल्ने जनाइएको छ ।
उनका अनुसार सोमवार प्रदेश १ र मधेश प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ ।
राजधानी काठमाडौं उपत्यकामा सोमवार बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।
वि.सं.२०७९ असोज ३ सोमवार १३:२१
















