कांग्रेसमा टिकट बिक्री भयो, आदर्शको पालना हुन छोडेकोप्रति चिन्ता व्यक्त: पूर्व राष्ट्रपति
पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् । बिहीवार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन् ।
उनले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे । उनले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजीनितक कार्यकर्ता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए । पूर्व राष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए ।
पूर्वराष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए ।
वि.सं.२०७९ भदौ २३ बिहीवार १५:३०
















