सानो हिमताल विस्फोटनले गरेको ठूलो खतराको संकेत
काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, सोलुखुम्बुमा भीषण बाढीको कारक मानिएको हिमताल, हिमालय क्षेत्रमा भएका अध्ययनहरुको जोखिमयुक्त सूचीमा परेको हिमतालमध्ये थिएन ।
विगतमा ठूला हिमताल मात्र जोखिमका रुपमा उल्लेख गरिन्थे । ‘छ्यो–रोल्पा, इन्जा जस्ता ठूला हिमतालमा मात्र ध्यान केन्द्रित भयो, यसपटक जसको नाम नै राखिएको थिएन, त्यो हिमताल फुट्दा ठूलो क्षति भयो’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले भने, ‘यसले सानो हिमतालले पनि यति विघ्न विध्वंस ल्याउन सक्ने रहेछ भन्ने देखाएको छ ।’
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले २०७७ सालमा गरेको संयुक्त अध्ययनमा ४७ वटा हिमताल उच्च जोखिममा रहेको भनिएको थियो । त्यसमध्ये २५ वटा चीन, २१ वटा नेपाल र एउटा भारतमा पर्छ ।
सबै हिमतालको गतिविधिले नेपाली क्षेत्रमा असर पर्ने भएकाले सूचीमा समेटिएको अध्ययनमा संलग्न वरिष्ठ जलवायु परिवर्तत विज्ञ डा। अरुणभक्त श्रेष्ठ बताउँछन् ।
तर अध्ययन प्रतिवेदनमा उल्लेखित जोखिमको सूचीमा थामे क्षेत्रको कुनै हिमताल उल्लेख थिएनन् । श्रेष्ठका अनुसार, हिमतालको आकार, त्यसलाई थेगिरहेको प्राकृतिक बाँध, अवस्थिति अनुसार हिमपहिरो आउने सम्भावनालाई आधार बनाएर जोखिम वर्गीकरण गरिएको थियो ।
शुक्रबारको घटनाले भने ठूला हिमतालको जोखिम अझ कति ठूलो प्रकृतिको हुन सक्ला भन्ने पनि संकेत गरेको श्रेष्ठ बताउँछन् । ‘हुन त हिमतालको आकारले मात्र क्षतिको निर्धारण गर्दैन, सबै एकैपटक फुट्यो कि थोरैथोरै गर्दै फुट्यो भन्ने कुराले अर्थ राख्छ’, इसिमोडसँग आबद्ध डा। श्रेष्ठले भने, ‘यद्यपि, यो घटनाले सानो हिमतालमा पनि ध्यान दिनुपर्छ भन्ने देखाएको छ ।’
त्यसो त सन् २०१६ मा तिब्बततर्फ हिमताल फुट्दा नेपालको भोटेकोशीमा क्षति पुगेको थियो । ‘०१६ र अहिलेको दुवै घटनाले एउटै स्पष्ट सन्देश दिएको छ’, उनी भन्छन्, ‘साना हिमतालमा पनि ध्यान देऊ ।’
सन् २०१६ को घटनामा भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको थियो, लिपिङ बजारदेखि ३० किलोमिटर तल खाडीचौरसम्म क्षति पुगेको थियो । नदी आसपासको संरचनामा क्षति पुगेको थियो ।
अहिले सोलुखुम्बमा गएको बाढीले ७ वटा घर र ५ वटा होटल बगाएको छ भने थामे आधारभूत विद्यालयको छात्रावास र एउटा क्लिनिकमा पूर्ण क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार, अहिले खुम्बु क्षेत्रमा पदयात्राको सिजन नहुनु र दिउँसो बाढी आउनुले थप मानवीय क्षति हुन पाएन । मानवीय क्षति नभएपनि भौतिक संरचनामा ठूलो क्षति पुगेको विपद् व्यवस्थापन प्राधिकरणका सीईओ पोखरेल बताउँछन् ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर
हिमालय क्षेत्रमा बाढी गएपछि शनिबार बिहान रक्षामन्त्री मानवीर राई, विपद् व्यवस्थापन प्राधिकरणका सीईओ पोखरेल सहितको टोली थामेको माथिल्लो क्षेत्रको हवाई भ्रमणमा गएको थियो । हेलिकोप्टरमार्फत भ्रमण गर्दा त्यहाँ जलवायु परिवर्तनका प्रत्यक्ष असरहरु देखिएको सीईओ पोखरेल बताउँछन् ।
‘प्रभावित क्षेत्रको उद्गम विन्दुमा जाँदा हामी ४ हजार ८०० मिटरमाथिको उचाइमा उडिरहेका थियौं, तर त्यहाँ हपहप गर्मी भयो’, उनी सम्झन्छन्, ‘जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनि हामीले अनुभव गरेको त्यहाँको १५र१६ डिग्रीको तापक्रम आफैंमा अनौठो थियो ।’
वि.सं.२०८१ भदौ ३ सोमवार ०७:२४
















