गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
तम्घास । गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चार जनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुई जनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।
बागलुङमा पहिरो:तीन जना बेपत्ता
उता बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीन जना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताइन् । केही क्षणमा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए ।
वि.सं.२०८१ साउन २२ मंगलवार १५:३२
















