‘अञ्जिला’ लाई अस्कर अवार्डमा पठाउने निर्णय विवादमा
अस्कर अवार्डको नेपालस्थित ‘अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति’ले गरेको उक्त निर्णय विवादित बनेको छ ।
समितिले केही दिनअघि फिल्म ‘अञ्जिला’लाई ९८ औँ एकेडेमी अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि नेपालबाट सिफारिस गर्ने निर्णयमा ‘गुन्युचोलो’का निर्माण पक्षले असन्तुष्टि जनाएका हुन् ।
फिल्म छनौटका लागि ‘अञ्जिला’ र ‘गुन्युचोलो’ले आवेदन दिएका थिए । समितिले एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित फिल्मलाई उत्कृष्ट ठहर्याउँदै छनोट गरेको थियो ।
निर्णयको २४ ण्टा नबित्दै ‘गुन्युचोलो’ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै आइतबारसम्म निर्णय खारेजी नगरे अमेरिकास्थित अस्कर मुख्यालयमा पत्र लेख्ने चेतावनी समेत दिएका छन् ।
पत्रकार सम्मेलनमा निर्देशक समुन्द्र भट्टले कमिटीको निर्णय त्रुटिपूर्ण रहेको बताइन् । उनले कमिटीको कार्यविधि नरहेको बताउँदै एक सदस्य अमेरिकामा रहेर फिल्म समेत नहरेको र अर्का एक सदस्यको भूमिकासँग समितिको निर्णयको स्वार्थ बाझिएको आरोप उनको छ ।
त्यस्तै अभिनेता नाजिर हुसेनले पनि समितिका एक जना सदस्यले अमेरिकामा बसेर नेपालबारेको निर्णय गर्न नहुने बताए । उनले नेपालको कमिटीको निर्णय गर्न नेपालमै उपस्थित हुनुपर्ने धारणा राखे । ‘गुन्युचोलो’को निर्माता कम्पनी स्काइ ओसन इन्टरटेनमेन्ट प्रालिले ‘त्रुटिपूर्ण निर्णय’लाई सच्याउन आग्रह गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको छ ।
प्राप्त उजुरीको आधारमा बोर्डले दुबै पक्षलाई आइतबार बोलाएको बताइन्छ । समिति सदस्य बिमल पौडेलले यस विषयमा समितिको शनिबार टिमभित्र छलफल हुने जानकारी दिए ।
वि.सं.२०८२ असोज ४ शनिवार १६:११
















