पुर्वराजाको सन्देश बारेमा समीक्षा गर्न राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
८ फागुन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बोलाएको छ ।
पार्टीको नियमित छलफल गर्न तथा पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको समीक्षा गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
पार्टीको कार्यसम्पादन बैठक नियमित हो। तर पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशको पनि बैठकमा समीक्षा हुनेछ।’
पुर्वराजाले प्रजातन्त्र दिवसको पुर्वसन्धयामा पूर्वराजाले शाहले ‘हाम्रो त्यागलाई कमजोरी नठानियोस्’ भन्दै शुभकामना सन्देशमार्फत देश बचाउन आह्वान गरेका थिए। यसले राजावादी पार्टीहरूमा तरङ्ग ल्याइदिएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश बचाउन र बनाउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानमा आफ्नो पार्टीको पूर्ण साथ रहने बताएका छन्।
उनले भनेका छन्, ‘ राजाको सन्देशमा देशको अवस्थाप्रति चिन्ता व्यक्त भएको छ,संकटबाट देशलाई मुक्त तुल्याउन सकारात्मक योगदान दिने चाहना अभिव्यक्त भएको छ। देश बचाउन र बनाउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानमा राप्रपा नेपालको पूर्ण साथ रहनेछ ।’
प्रजातन्त्र दिवसको दिन राजाबाट व्यक्त शुभकामनालाई नकारात्मक रुपमा लिन र टीका टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ छ ।
यस्तै महामन्त्री डा। धवलशम्शेर राणाले फेसबुकमा लेख्दै पूर्वराजाले गरेको आह्वानको स्वागत र समर्थनमा जिल्ला–जिल्लामा दीप प्रज्ववल गर्न आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि राजा ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दछु।’
वि.सं.२०८१ फागुन ८ बिहीवार १४:४४
















