पार्टी सभापतिमा मेरो दाबी हो : डा. कोइराला
दाङ, १२ भदौ
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन् । दाङको घोराहीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिमा आफु उठ्ने बताएका हुन् । पार्टीको महाधिवेशनमा सभापतिमा उठ्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने, ‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि ।’उनले उम्मेदवारीबाट पछाडि नहट्ने दाबी समेत गरे ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने बताए ।
कम्युनिष्टहरू फुटेको समय भएकाले गाउँ गाउँमा पार्टी संगठनमा जुट्न समेत उनले सबै नेता, कार्यकर्तालाई आह्वान गरे । अब आउने आमनिर्वाचन काँग्रेसको प्रतिष्ठाको लडाइ भएकाले यसमा खरो रुपमा उत्रनुपर्ने उनको भनाइ छ । एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने उनको दाबी थियो ।
वि.सं.२०७८ भदौ १२ शनिवार २२:३७
















