१०६ वर्षका वृद्धको भाँच्चिएको हड्डीकाे नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सफल शल्यक्रिया
नेपालगन्ज, स्वास्थ्य उपचारका लागि पश्चिम नेपालको हव नेपालगन्जमा १०६ वर्षीय एक वृद्धको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।भर्खरै २ महिनाअघी मात्र स्थापना भएको नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीया पदमबहादुर शाहको भाँचिएको हिपको हड्डीको सफल शल्यक्रिया गरिएको हो ।
हिपको हड्डी भाँचिएको शल्यक्रिया जटिल नभए पनि उमेरले १०६ वर्षका वृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया गर्नुपरेकोले उमेरका हिसाबले सो शल्यक्रिया निकै जटिल रहेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताए। उनले भने, “उमेरका हिसावले यो एकदमै जोखिमपूर्ण अवस्थाको शल्यक्रिया हो, हाम्रो टिमले अत्यन्तै सावधानीपूर्ण तरिकाले सफलतापूर्वक शल्यक्रिया गर्यो । एकदमै खुसी लागेको छ ।”
उनले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको हड्डी भाँचिएको र यति धेरै उमेरमा सो शल्यक्रिया गरिनु र सफल हुनु आफैंमा उल्लेखनीय कार्य भएको बताए । सम्भवतः यो उमेरमा यस खालको शल्यक्रिया नेपालगन्जका कुनै पनि अस्पतालमा अहिलेसम्म नभएको डा.सद्दामले दाबी गरे।
१०६ वर्षीया पिताको हिपको हड्डी भाँचिएपछि उपचार नै नहुने जस्तो देखेर आफूहरु निकै आत्तिएका थियौँ तर उहाँको सफल शल्यक्रियापस्चात पूरा परिवार खुशी भएको शाहलाई अस्पताल लिएर आएका उनका ८७ वर्षीय छोरा भूपेन्द्रबहादुर शाहले बताए । उनले शल्यक्रियापछि पिताको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाउँदै नेशनल अर्थोपेडिक अस्पतालप्रति धन्यवाद व्यक्त गरे।
८७ वर्षका छोरा १०६ वर्षका बुबालाई लिएर अस्पतालमा उपचारका लागि आएपछि अस्पतालका सम्पूर्ण टिम नै चुप लागेर बस्नै सकेनौं सोही कुराले हामीलाई उत्साहित बनायो र ८७ वर्षका छोराको आँसु र उनको बुबाको उपचार गर्ने इच्छाले आफूहरुलाई शल्यक्रिया गर्न हौसला मिलेको डा। सद्दामले बताए ।
१०६ वर्षीया पिताको उपचारका लागि ८७ वर्षीया छोराले चार दिन अस्पतालमा बसेर गरेको सेवा र मेहनतबाट अस्पतालका चिकित्सक, कर्मचारी र त्यहाँ रहेका अन्य बिरामी तथा कुरुवाले समेत ठुलो ज्ञान प्राप्त गरेको नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जले जनाएको छ ।
वि.सं.२०८१ भदौ ९ आइतवार १७:४९
















