चार जना नेपाली अमेरिकामा प्रेसिडेन्सियल लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित
नेपाली अमेरिकामा सम्मानित
काठमाडाैँ – नेपाली समाज टेक्सास का पूर्व अध्यक्ष दिनेश शर्मा, वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले, प्रा. सल्लाहकार प्रभात दिक्षित, पूर्व उपाध्यक्ष तथा वर्तमान प्रवक्ता किरण पौड्याल ‘प्रेसिडेन्सियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। समुदायमा गरिएको ‘भोलिन्टियर’ सेवाको लागि उनीहरुलाई अवार्ड प्रदान गरिएको हो।
समाजको सुधारको लागि जीवनभर सेवा र समर्पणको मान्यता दिदै विभिन्न लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई ‘प्रेसिडेन्सियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ दिइन्छ। यो सम्मान, स्वयंसेवा मार्फत आफ्नो समुदायमा महत्वपूर्ण योगदान पुर्या्एका व्यक्तित्वहरुलाई दिइने प्रतिष्ठित सम्मान हो।
यो अवार्ड अमेरिकाका राष्ट्रपतिले सरकारसँग सम्बद्ध प्रतिनिधिमार्फत प्रदान गरिन्छ। अवार्डमा राष्ट्रपति सम्मानको साथमा, सम्मानित व्यक्तित्वहरुलाई व्यक्तिगत प्रमाणपत्र, आधिकारिक पिन, सुनको तक्मा र संयुक्त राज्यका राष्ट्रपतिबाट बधाई पत्र समेत प्रदान गरिन्छ।
सामाजिक एकताका लागि समुदायमा शसक्त रुपमा उपस्थित भएर गरेका कामहरुलाई नै ‘प्रेसिडेन्सियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको नेपाली समाज टेक्ससका प्रवक्ता किरण पौड्यालले बताए।
‘समुदायमा गरेको सेवा, सामाजिक तथा सांस्कृतिक उत्थानका कार्यहरु, परोपकारी पहलहरू तथा सामाजिक एकताका लागि समुदायमा शसक्त उपस्थित भएर गरेका कामहरुलाई नै प्रेसिडेन्सियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको हो’, उनले भने।
नेपाली समाज टेक्ससले सकारात्मक प्रभाव सिर्जना गर्न निरन्तर प्रयास गर्दै आइरहेको प्रवक्ता पौड्यालले बताए। ‘अमेरिकाको राष्ट्रपतिबाट यो पुरस्कार प्राप्त गर्नु नेपाली समाज टेक्सस र यस संस्थाका पदाधिकारीहरुको लागि कोशेढुङ्गा मात्र होइन, समाजका लागि हामीले अगाडि बढाएको योजना र जिम्मेवारीको सम्झना पनि हो।
यसले नेपाललाई अमेरिका संग एकता, समझदारी र समर्थनलाई प्रवर्द्धन गर्दछ र डायस्पोरा समुदायहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई पनि सम्बर्धन गर्छ। यो आदर्श हाम्रो समाजका प्रत्येक सदस्यहरुको हो, जसको निःस्वार्थ योगदान र स्वयंसेवाका लागि चुनौतीहरूको सामना गर्दै बलियो भएर उभिन हिम्मत दिएको छ।
वि.सं.२०८० फागुन ७ सोमवार १८:२०
















