जसपा अध्यक्ष डा. भट्टराईले गरे छुट्टै बैठक आह्वान
जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको बैठकको एकदिन अगावै डा. भट्टराई पक्षले बैठक आह्वान गरेको हो । भट्टराई पक्षको बैठक असार २८ र २९ गते काठमाडौंमा बस्ने तय भएको केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
यादव पक्षले भने असार २९ र ३० गते वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
भट्टराई पक्षले छलफल हुने विभिन्न एजेण्डाहरु सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको बताएको छ । उक्त बैठकमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल हुने पाण्डेले बताए ।
बैठकमा डा. भट्टराईले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको उनले बताए ।
जसपामा आन्तरिक विवाद चर्किदै गएपछि डा. भट्टराई र यादव पक्षले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।
वि.सं.२०७९ असार २६ आइतवार १३:०६
















