ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा जाँदा मानवीय क्षति भयो : कुलमान घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले केही ज्योतिषले सामाजिक सञ्जालमा लेखेको स्टाट्सका कारण लाङटाङमा मानवीय क्षति भएको हुनसक्ने बताएका छन् । आइतबार भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । उनले सरकारले त्यति धेरै सतर्कता अपनाउन सूचना जारी गरिरहँदा केही ज्योतिषले केही नहुने भन्दै सामाजिक सञ्जालमा राखेको स्ट्याटसको कुरामा विश्वास गर्दा मानवीय क्षति पुगेको हुनसक्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री समेत रहेका घिसिङले भने– ‘मैले सुनेको कुरा तपाईंहरूलाई भन्छु, केही ज्योतिषीहरूले यो हुँदैन, यो गलत हो भनेको कारणले पनि लाङटाङमा ट्रेकिङमा जानुभयो कि भन्ने कुराहरू छन् । हामीले त पटक पटक भन्या थियौँ । सबैले जानकारी दिएका छौँ । तर पनि ज्योतिषीको विश्वास गर्दा मानवीय क्षति हुन पुगेको देखिन्छ ।’
उनले भने– ‘हामीले सूचना दिँदाखेरि, भन्दाखेरी पनि खोलाको किनारबाट हट्न चाहिरहेका थिएनन् । उहाँहरू त्यही बस्न चाहनुभएको थियो । नबगेसम्म बस्ने अवस्था पनि देखियो ।’
मन्त्री घिसिङले सरकारले सतर्कता अपनाएकै कारणले पनि अझ धेरै नै क्षति हुनबाट रोकेको दाबी गरे ।
ज्योतिष हरिहर अधिकारीले शुक्रबार मौसम विभागले भने अनुसार ‘१६ गतेदेखि २० गतेसम्म भारी वर्षा हुनेछ र सतर्कता अपनाउन नेपाल सरकारले अनुरोध गरेको छ तर अझै सम्मको अवस्थालाई हेर्दा मेरो शङ्का छ कि वर्षा सामान्य मात्र हुने’ बताएका थिए । उनले सामान्य वर्षा भएर स–साना क्षति भए त्यो आफ्नो ठाउँमा हुन्छ, तर अहिलेसम्म नदेखिएको ठुलो महावर्षा, ठुलो क्षति हुने अवस्था देखिँदैन, ढुक्क हुनुहोस् भन्दै स्ट्याटस लेखेका थिए ।
उनले लेखेका थिए,‘ एक जना ज्योतिषीले सामान्य भविष्यवाणी गर्दा ‘भ्रम फैलायो’ भनेर जेल हालिन्छ। तर यदि आज मौसम विभागले भनेको कुरा भोलि पुरा भएन भने त्यो के फैलाएको हुन्छ ? यसैतर्फ ध्यान केन्द्रित होस् । आफ्नो सुरक्षा अवश्य गर्नुस्, तर नआत्तिनुस्। पूर्णिमा आउँदैछ, त्यसैले कुनै ठुलो अनिष्ट हुँदैन ।’ तर उनले उक्त स्टाटस् शनिबार हटाउँदै माफी समेत मागेका छन् ।
वि.सं.२०८२ असोज १९ आइतवार २१:२९
















