स्वास्थ्य बीमामा यसरी घरमै बसी आबद्ध हुनुहोस्…
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले नयाँ परिवार दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाएको छ । अब स्वास्थ्य बीमामा आबद्ध हुनका लागि सर्वसाधारणले सरकारी कार्यालय धाउनुपर्ने र लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।
सेवाग्राहीले आफ्नै मोबाइल वा कम्प्युटरमार्फत बोर्डको आधिकारिक वेब पोर्टल (eportal.hib.gov.np) मा गएर वा क्युआर कोड स्क्यान गरी सहजै नयाँ दर्ता प्रक्रिया अघि बढाउन सक्नेछन् । दर्ता प्रक्रिया सुरु गर्नुअघि सेवाग्राहीले आफ्ना आवश्यक विवरणहरू जस्तै– चालु मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर वा जन्म मिति, परिवारका सदस्यहरूको विवरण, नाता प्रमाणित र बसाइँसराइको कागजात (आवश्यक परेमा) तयार राख्नुपर्नेछ ।
दर्ता प्रक्रियाका लागि सर्वप्रथम प्रणालीमा आफ्नो खाता खोल्नुपर्छ। त्यसका लागि परिवार मुलीको नाम, मोबाइल नम्बर र इमेल प्रविष्ट गरेपछि मोबाइलमा आउने ६ अङ्कको ओटिपी कोड हालेर नम्बर प्रमाणीकरण गर्नुपर्नेछ । त्यसपछि नयाँ पासवर्ड सिर्जना गरी युजर आइडी सुरक्षित राख्नुपर्छ ।
लगइन गरिसकेपछि ‘मेरो बीमालेख’ अन्तर्गत ’नयाँ आबद्धता’ मा गएर विद्युतीय मन्जुरीनामा स्वीकार गर्नुपर्छ। यसपछि परिवार मुलीको राष्ट्रिय परिचयपत्र वा म्यानुअल विवरण भर्ने र त्यसपछि परिवारका अन्य सदस्यहरू (परिवारमूलीसहित बढीमा १० जना) को विवरण तथा नाता खुल्ने कागजातहरू प्रणालीमा अपलोड गर्नुपर्छ ।
यस अनलाइन प्रणालीमा दर्ता गर्दा सम्भव भएसम्म परिवारमूलीकै मोबाइल नम्बर प्रयोग गर्न बोर्डले अनुरोध गरेको छ । फारम स्वीकृत वा अस्वीकृत भएको सूचना, नवीकरणसम्बन्धी विवरण तथा बीमाका अन्य जानकारीहरू सोही मोबाइल नम्बरमा एसएमएस मार्फत आउने भएकाले आधिकारिक नम्बर प्रयोग गर्नु आवश्यक हुन्छ ।
साथै, रातो कार्ड प्राप्त अति विपन्न परिवार, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, एचआईभी सङ्क्रमित, एमडीआर टीबी रोगी, कुष्ठरोगी, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयंसेविका जस्ता लक्षित वर्गले नियमानुसार छुट सुविधा पाउनका लागि परिवारमूली बनाएर सम्बन्धित आधिकारिक परिचयपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।
फारम भरिसकेपछि सम्पूर्ण विवरणहरू पुनः रुजु गरी प्रणालीमा स्वतः गणना भएर आउने बीमा शुल्क रकम उपलब्ध डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ। भुक्तानी सफल भएपछि बीमालेख फारम प्रमाणीकरणका लागि परिवार मुलीको स्थायी ठेगाना रहेको जिल्लाको स्वास्थ्य बीमा कार्यालयमा स्वतः पठाइनेछ (लक्षित वर्गको हकमा विवरण रुजुका लागि बीमा बोर्डमा पेस हुन्छ) ।
अन्त्यमा सेवाग्राहीले ’बीमालेख एप डाउनलोड’ मा क्लिक गरी आफ्नो फारम सुरक्षित राख्न सक्नेछन् । फारम स्वीकृत वा अस्वीकृत भएको जानकारी प्रणालीको बेल आइकन र बीमा कार्ड जारी भएपछि एसएमएस मार्फत प्राप्त हुने बोर्डले जनाएको छ ।
वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१


















